सहकारी ठगी प्रकरणमा फरार कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ — बहुचर्चित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा फरार रहिएकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्।

शनिबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कपनस्थित निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा भएको अर्बौं रुपैयाँको हिनामिनामा राईको संलग्नता देखिए पनि प्रारम्भिक अनुसन्धानपछि ठेगाना नखुलेको भन्दै प्रहरीले उनीमाथि कारबाही अघि बढाउन सकेको थिएन। तर, उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेको पुष्टि भएपछि प्रहरीमाथि अनुसन्धान अघि बढाउने दबाब बढेको थियो।

राईको नाममा पूर्वमै पक्राउ पुर्जी जारी भए पनि उनी सात महिनासम्म पक्राउ परेकी थिइनन्। यसबीचमा उनी नियमित रूपमा संसद् बैठकमा सहभागी हुँदै आएकी थिइन्। तलब भत्तासमेत बुझ्दै आएकी राईलाई भने शनिबार पक्राउ गरिएको हो।

अनुसन्धानको क्रममा करिब २ अर्ब ६५ करोड रुपैयाँ बराबरको हिनामिना भएको विवरण खुलेको छ। राई सो सहकारीमा सचिवको जिम्मेवारीमा रहेको बताइएको छ।

सुरुमा जिल्ला अदालत काठमाडौंबाट राईसहित ४४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अदालतमा मुद्दा दायर गर्दा ३९ जनालाई मात्रै प्रतिवादी बनाइएको थियो, जसमा राईको नाम समावेश गरिएको थिएन।

तर, राईको स्थायी ठेगाना भोजपुर भएको र उनी कांग्रेसकी समानुपातिक सांसद भएको पुष्टि भएपछि पुनः अनुसन्धान अघि बढाइएको हो।

तपाईको प्रतिक्रिया