सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रिया जटिल, नेतृत्व चयनमा शक्ति केन्द्रहरूको चासो

काठमाडौँ, वैशाख ३० – सशस्त्र प्रहरी बल नेपालमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त रहेको छ। वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतमको अवकाशपछि खाली रहेको उक्त पदमा हालसम्म बढुवा टुंगो लागेको छैन।

गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग समेत नेतृत्वविहीन बनेको छ। अहिले उक्त विभागको जिम्मेवारी डिआईजी कमल गिरीले कार्यवाहकका रूपमा सम्हालेका छन्। भारत–पाकिस्तानबीचको बढ्दो तनावको सन्दर्भमा सीमा सुरक्षा संवेदनशील मानिएकोले नेतृत्व रिक्त नराख्न सशस्त्र भित्रैबाट चासो देखिएको छ।

गृह मन्त्रालयले वैशाख १४ मा एआईजी पदका लागि बढुवा सूचना प्रकाशित गरेसँगै प्रतिस्पर्धा सुरु भएको हो। आठ जना डिआईजीहरूले दरखास्त दिएका छन्, जसमा कमल गिरी, गणेश ठाडा, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अन्जनीकुमार पोखरेल रहेका छन्।

प्रतिस्पर्धीहरूमध्ये कमल गिरी, गणेश ठाडा, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ मेरिटमा अगाडि छन्। ती चार जनाको सेवा अवधि मन्त्रिपरिषद्ले २०८१ पुस २३ मा थप गरिसकेको छ, जसका कारण जो कोही एआईजी बने पनि सशस्त्रको नेतृत्वमा पुग्ने सम्भावना प्रबल देखिन्छ।

सशस्त्र प्रहरीको नयाँ विधेयक अझै संसदमा छलफलमै रहेको हुँदा वर्तमान कानुनी व्यवस्था अनुसार एआईजी बन्ने अधिकारीले भविष्यमा संगठनको नेतृत्व सम्हाल्ने अवस्था रहनेछ।

गृह मन्त्रालयका एक उच्च स्रोतका अनुसार बढुवा सिफारिस प्रक्रियामा राजनीतिक तहको हस्तक्षेप निर्णायक बन्ने देखिएको छ। ती स्रोतका अनुसार गृह सचिव गोकर्णमणि दुवाडी विदेश भ्रमणमा रहेका कारण सिफारिस प्रक्रिया केही दिन रोकिएको हो। उनी हाल श्रीलंकाबाट फर्किसकेका छन्।

शक्तिकेन्द्रमार्फत लबिङ समेत तीव्र बनेको छ। गृह मन्त्रालयमा कमल गिरी र गणेश ठाडाबीच मुख्य प्रतिस्पर्धा रहेको स्रोतले जनाएको छ। नेतृत्व तहबाट निर्देशन नआएसम्म बढुवा सिफारिस अघि नबढ्ने अवस्था रहेको स्पष्ट देखिएको छ।

तपाईको प्रतिक्रिया