सरकार स्थिर रहन्छ, कार्यकाल पूरा गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार बनेको सरकार १० महिनामै परिवर्तन नहुने स्पष्ट पारेका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा छोटो अवधिमा सरकार फेरिने चलन रहे पनि अहिलेको सरकार स्थिर रूपमा अघि बढ्ने दाबी गरे।

“म मन्त्री बनेको १० महिना भइसक्यो, तर १० महिना धेरै पनि होइन,” उनले भने, “पहिला त १०/१० महिनामै सरकार फेरिन्थ्यो, अहिलेको सरकार त्यस्तो होइन। यस्ता १० महिना हामी अझै तीन/चारपटक कटाउँछौं।”

लेखकले हालको सरकार विगतको जस्तो अस्थिर नहुने विश्वास व्यक्त गर्दै, अहिलेको सरकारको कार्यकाल पूरै समयसम्म चल्ने संकेत दिए। उनले नेपालमा सरकार परिवर्तनको गति विगतमा तीव्र रहेको स्मरण गराउँदै, अहिलेको सन्दर्भ फरक भएको बताए।

कार्यक्रममा गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पूर्णता दिइएकोसमेत जानकारी गराए। “पछिल्ला नौ महिनामा हामीले कानुनलाई पूर्णता दिएका छौं,” उनले भने।

तपाईको प्रतिक्रिया