सरकार निजी क्षेत्रको मनोबल उच्च राख्न प्रतिबद्ध : अर्थमन्त्री खनाल


काठमाडौँ, ।अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँग सोमबार भएको भेटमा मन्त्री खनालले सो कुरा बताएका हुन्।

उनले पुनर्निर्माण प्रक्रिया सुदृढ बनाउन सरकारले राजस्व छुट, बैंकिङ सहुलियत, र बीमा क्षेत्रमा सहजीकरण जस्ता कार्यक्रम अघि सारेको जानकारी दिए। साथै, भन्सार प्रणालीमा ‘अनलाइन डेटाबेस’ लागू गरिएको उल्लेख गर्दै उनले यो प्रणालीले पारदर्शी बजार कारोबारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

यो नयाँ प्रणाली अन्तर्गत भन्सारमा जाँचपास भएका सबै वस्तुको मूल्य विवरण डिजिटल रूपमा संकलन हुनेछ, जसले वस्तुको मूल्य निर्धारणमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ। असोज ९ गते उक्त प्रणालीको उद्घाटन अर्थमन्त्री खनालले गरेका थिए।

तीनवटै उद्योग संगठनका अध्यक्षहरूले सरकारले अघि सारेका सुधार प्रयासको स्वागत गर्दै आफ्ना सदस्यहरूलाई नयाँ प्रणालीको प्रयोग गर्न आग्रह गरेका छन्। साथै, हालैको ‘जेनजी’ आन्दोलनका क्रममा निजी व्यवसायहरूमा भएको तोडफोड, लुटपाट र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

उनीहरूले सरकारसँग कानुनी कारबाही नगरे निजी क्षेत्र थप निरुत्साहित हुने चेतावनीसमेत दिएका छन्।

संगठका अध्यक्षहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै, निजी क्षेत्रलाई सुरक्षित, स्वतन्त्र र व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

अध्यक्षहरूले वर्तमान सरकारको मुख्य प्राथमिकता निर्वाचन भए पनि आर्थिक सुधारका आधार बलियो बनाउने यो सही समय भएको उल्लेख गर्दै, बहुपक्षीय वित्त सम्मेलन जस्ता कार्यक्रमहरू निजी क्षेत्रको अगुवाइमा हुनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले निर्वाचन समयमै सम्पन्न गरिनुपर्ने आवश्यकता औंल्याउँदै खुला बजार र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया