सरकारी सेवा सुविधा नलिने तयारीमा पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किएपछि आफ्नो पूर्व राष्ट्रपतिको सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरिरहेकी छन्।

भण्डारीले गृह मन्त्रालयलाई यस सम्बन्धमा पत्र पठाउने योजना बनाएकी हुन्। उनी पूर्व राष्ट्रपतिको हैसियतमा पाउँदै आएका मासिक डेढ लाख रुपैयाँसहितका अन्य सेवा सुविधा नलिने निर्णयमा पुगेकी छिन्।

तर, सुरक्षा सम्बन्धी सुरक्षाकर्मी भने यथावत रहनेछन्।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि, पार्टीको राजनीतिमा पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा कायम राख्दा प्रश्न उठ्न सक्ने भएकाले साउन महिनादेखि यी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको जनाइएको छ।

गृह मन्त्रालयले भण्डारीलाई उपसचिव सरहको स्वकीय सचिव र कार्यालय सहयोगीसहित मासिक डेढ लाख रुपैयाँको सेवा सुविधा उपलब्ध गराउँदै आएको थियो। सुरक्षाकर्मी हटाउन नमिल्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया