सरकारसँग समझदारी गरेका हौं, तर विधेयक अलपत्र पर्छ कि भन्ने चिन्ता छ : प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग केही लचिलो भएर विधेयक पारित गर्न पहल गरे पनि ती समयमै सदनबाट पारित नहुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा प्रहरीसम्बन्धी विधेयकमाथि छलफल गर्दै उनले समितिबाट पारित भइसकेका विधेयकहरूलाई संसदमा जानुअघि वा संसदमा पुगेपछि पनि अनावश्यक रूपमा ढिलाइ गरिँदै आएको उल्लेख गरे।

प्रचण्डले संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा विधेयकजस्ता कानुनहरूलाई अत्यन्तै महत्वपूर्ण बताउँदै तीलाई अविलम्ब पास गर्नुपर्नेमा जोड दिए। उनले भने, “सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि महत्वपूर्ण ऐनहरू पारित गरौं भन्ने चाहना हो। तर कताकता चिन्ता लागेको छ — यत्तिकै टारिने हो कि भन्ने। सरकारको ध्यानाकर्षण गराइरहेको छु, छेडाखानी नगरियोस्, ढिलाइ नगरियोस्।”

उनले विधेयक सदनमा पुगिसकेपछि पनि चलखेल र ढिलासुस्ती हुने गरेको गुनासो गरे। “समितिमा छलफल गरेर विधेयक पारित गरिन्छ, तर पूर्ण सदन (फुल हाउस) मा पुगेर कार्यसूचीमा परेपछि पनि हटाइएको देख्दा चिन्ता लाग्दो अवस्था छ,” उनले भने।

प्रचण्डले सरकारसँग लचिलो हुनुको कारण संवेदनशील र महत्वपूर्ण विधेयक छिटो पारित होस् भन्ने उद्देश्य रहेको बताए। “मैले कतिपय कुरामा सरकारसँग समझदारी बनाऔं भनेको पनि विधेयकहरू छिटो ऐनमा परिणत होऊन् भन्ने हो,” उनको भनाइ थियो।

प्रहरीसम्बन्धी विधेयकमाथि छलफल भइरहँदा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र प्रहरी महानिरीक्षक दिपक थापा पनि समितिको बैठकमा सहभागी थिए।

तपाईको प्रतिक्रिया