सरकारले अपराध र आन्दोलन छुट्याउन असफल भयो : एमाले महासचिव शंकर पोखरेल

काठमाडौँ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले अपराध र आन्दोलनबीचको भिन्नता छुट्याउन नसकेको आरोप लगाएका छन्।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै सरकारले अपराध र आन्दोलनलाई एकै नजरले हेरेको टिप्पणी गरे।

उनका अनुसार राज्यका प्रतिष्ठानमा भएको आगजनी र लुटपाटजस्ता कार्य आन्दोलनका नाममा गर्न सकिँदैन। “त्यस्ता काम गर्नेहरू आन्दोलनकारी होइनन्, राष्ट्रका अपराधी हुन्,” उनले भने, “जसले योजनाबद्ध रूपमा ती कार्यहरू गराए, तिनीहरूलाई पहिचान गरेर कानूनी कारबाही गर्नुपर्छ।”

पोखरेलले एमालेको स्पष्ट धारणा आन्दोलनलाई सम्बोधन गर्न सकिने तर अपराधलाई दण्डित गर्नुपर्ने रहेको बताए। उनले आन्दोलन र अपराधलाई छ्यासमिस पार्ने अभ्यास अनुचित भएको टिप्पणी गरे।

महासचिव पोखरेलले भदौ २३ गतेको आन्दोलनका माग सरकारसम्म औपचारिक रूपमा नपुगेको र आन्दोलनको नेतृत्व स्पष्ट नभएकाले सरकारप्रति देखाइएको असन्तुष्टि सान्दर्भिक नरहेको पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया