सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं, बैशाख २९ – आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ। आइतबार बसेको बैठकमा विस्तृत छलफलपछि नीति कार्यक्रमलाई समर्थन गर्दै संसद्ले पारित गरेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको लिखित तथा मौखिक जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफपश्चात सभामुख देवराज घिमिरेले प्रस्तुत संशोधन प्रस्तावहरूलाई निर्णयार्थ राखेका थिए, तर ती प्रस्तावहरू बहुमतले अस्वीकृत गरिए।

संशोधनहरू अस्वीकृत भएपछि मूल नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो, जसलाई प्रतिनिधिसभाले अनुमोदन गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संविधानको धारा ९५ अनुसार हरेक वर्ष संसद् अधिवेशनको सुरुवातमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रावधान रहेको छ।

स्वीकृत नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गर्नेछ।

तपाईको प्रतिक्रिया