समिति संयोजकबाट हटाइएका वडाध्यक्षहरूको आरोप– ‘बालेनले बैठक छल्न खोज्दै’

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका अन्तर्गत रहेका चार वटा समितिका संयोजकहरूलाई हटाएका छन्। हटाइएका वडाध्यक्षहरूले आफूहरूलाई कार्यपालिका बैठक नबोलाउने विषयबाट ध्यान मोड्न हटाइएको आरोप लगाएका छन्।

महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले पाँच महिनासम्म कार्यपालिका बैठक नबोलाइएको विषयको आलोचना गर्दा आफूलाई समितिबाट हटाइएको दाबी गरेका छन्। “यदि सहमतिका साथ हटाउने हो भने प्रवक्ताको जिम्मेवारीबाट हटाइन्थ्यो, तर त्यसका लागि कार्यपालिका बैठक चाहिन्छ,” मानन्धरले भने, “पाँच महिनादेखि नबसेको बैठकको विषय डाइभर्ट गर्न यस्तो कदम चालियो।”

वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले पनि महानगर नियमअनुसार सञ्चालन नभएको बताए। “नियमअनुसार नै समिति गठन भएको थियो भने, त्यसैअनुसार नै फिर्ता हुनुपर्थ्यो। कार्यपालिका बैठक माग गर्दा पनि बैठक बस्न नसक्नु गम्भीर प्रश्न हो,” उनले भने।

महानगरका अनुसार नगर कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ बमोजिम गठन भएका समितिहरूमा उपनियम (१) को आधारमा संयोजक परिवर्तन गरिएको छ।

संशोधित जिम्मेवारीअनुसार:

  • सूचना प्रविधि समितिमा वडा १७ का नवीन मानन्धरको स्थानमा वडा ५ का वीरेन्द्र प्रजापती,
  • सुशासन समितिमा वडा २६ का ख्यामराज तिवारीको स्थानमा वडा ३० का दलबहादुर कार्की,
  • सम्पदा तथा पर्यटन समितिमा वडा ८ का आशामान संगतको स्थानमा वडा २४ का विनोदकुमार राजभण्डारी,
  • विधायन समितिमा वडा २३ का मचाराजा महर्जनको स्थानमा वडा १६ की रोजिना श्रेष्ठ संयोजक नियुक्त भएका छन्।

समितिबाट हटाइएका वडाध्यक्षहरू महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरी सुनिश्चित गर्न सक्रिय थिए। त्यसयता मेयर बालेन र उनीहरूबीच सम्बन्ध चिसिँदै गएको थियो। अहिले हटाइएका वडाध्यक्षहरूले कार्यपालिका बैठक नबोलाइएसम्म अन्य बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया