समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा, अन्तिम परिणाम केहीबेरमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले बाँकी रहेका केही क्षेत्रको मतगणना सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल इलाम–१ र गोरखा–१ का मत गणना भइरहेका छन्। ती क्षेत्रको गणना सम्पन्न भएपछि समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरिने उनले जानकारी दिए।

आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भइसकेको छ। हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा रहेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत पाएको छ। यस्तै नेपाल कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत प्राप्त गरेको छ।

अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१ तथा जनमत पार्टीले ७८ हजार ९७३ मत प्राप्त गरेका छन्।

यसैबीच प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया