सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित

टोकियो, – जापानको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री बनेकी छन्। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) की नेतृ सनई टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदित भएकी हुन्।

प्रतिनिधि सभाका ४६५ सांसदमध्ये टाकाइचीले २३७ मत प्राप्त गरेकी छन्। बहुमतका लागि आवश्यक २३३ मत पार गरेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो। अब उनलाई माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) बाट पनि अनुमोदन हुने प्रबल सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

आजै साँझ टाकाइचीले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार टाकाइचीको प्रधानमन्त्री चयनले जापानमा महिलाको राजनीतिक सहभागिता र सशक्तीकरणका लागि ऐतिहासिक अवसर सिर्जना गर्नेछ।

६४ वर्षीया टाकाइची सन् २०२१ र २०२४ मा दुईपटक एलडिपीको नेताको चुनावमा पराजित भएकी थिइन्। तर, गत भदौमा पार्टीको नेतृत्व चयन प्रक्रियामा उनी विजयी भइन्। जापानमा सत्तारूढ दलको नेता बन्ने व्यक्तिले संसदमा बहुमत सिद्ध गरेपछि प्रधानमन्त्री बन्ने परिपाटी रहँदै आएको छ।

गत अक्टोबरमा प्रधानमन्त्री बनेका योशिहिदे इशिबाको कार्यकालमा एलडिपीले संसदका दुवै सदनमा बहुमत गुमाएको थियो। त्यसपछि उनले पदबाट राजीनामा दिए र पार्टी नेतृत्वका लागि नयाँ निर्वाचन भएको हो।

एलडिपीले सन् २०१२ यता निरन्तर सत्ता सम्हाल्दै आएको छ। टाकाइचीको नेतृत्वमा पार्टीले फेरि आफ्नो प्रभाव कायम राख्न सक्छ कि भन्ने चासो राजनीतिक विश्लेषकहरूबीच रहेको छ।

तपाईको प्रतिक्रिया