सत्तारूढ सांसदको टिप्पणी : नीति कार्यक्रम निराशाजनक, यथार्थविहीन

काठमाडौँ — आउँदो आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति सत्तारूढ दलका सांसदले नै असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सामाजिक परिवर्तन र जनअपेक्षा बुझ्न नसकेको टिप्पणी गरे।

सांसद केसीले सरकारले आम नागरिकमा बढ्दो निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्नेमा त्यसतर्फ गम्भीर दृष्टिकोण नदेखाएको बताए। “सामाजिक गतिशीलता जुन दिशातिर गइरहेको छ, त्यो बुझ्न सकिएको छैन,” उनले भने, “राज्यले परिवर्तनशील समाजको माग सम्बोधन गर्न नयाँ दृष्टिकोण दिनुपर्ने हो, तर त्यस्तो केही देखिएको छैन।”

उनको भनाइमा, सरकार पुराना परम्परा र ऐतिहासिक मान्यताको निरन्तरतासँगै नवीन सोच र रूपान्तरणको तयारीमा गम्भीर हुनुपर्ने थियो। उनले वर्तमान नीति तथा कार्यक्रम परम्पराको दोहोराइमा सीमित भएको उल्लेख गरे।

केसीले नीति कार्यक्रममा जेनजी पुस्ताको चर्चा भए पनि त्यसलाई सम्बोधन गर्ने स्पष्ट योजना र प्रतिबद्धता नभएको भन्दै चिन्ता व्यक्त गरे। “अब अल्फा पुस्ता पनि आइसकेको छ, तर उनीहरूलाई समेट्ने दृष्टिकोण देखिँदैन,” उनले भने।

सांसद केसीले छलफलबाट प्राप्त सुझावलाई समेटेर नीति कार्यक्रम संशोधन गर्नुपर्नेमा जोड दिए। साथै, सरकार यथार्थमा गर्न सक्ने कार्यक्रम मात्र प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो। “वर्षौँदेखि मल कारखानाको प्रतिबद्धता दोहोरिन्छ, तर अझै सुरुवातसम्म भएको छैन,” उनले भने।

उनले कमजोर अर्थतन्त्र र बढ्दो आर्थिक जोखिमलाई बेवास्ता गरिएको पनि आरोप लगाए। “दुईतिहाइको समर्थन पाएको सरकारले १० महिनामा पुँजीगत खर्चको एकतिहाइ पनि गर्न सकेन,” उनले भने, “त्यसैले हामीले सरकारको क्षमताबारे गम्भीर समीक्षा गर्नुपर्छ।”

सहकारी पीडितसम्बन्धी विषय उठाउँदै उनले ठगहरूले लिएको सम्पत्ति लिलाम गरेर पीडितलाई राहत दिन सरकार प्रतिबद्ध हुनुपर्ने बताए। “सहकारीबाट ठगिएका जनतालाई न्याय दिन ठगहरूको घरजग्गा लिलाम गरेर रकम दिलाउने व्यवस्था गरिनुपर्छ,” उनले माग गरे।

तपाईको प्रतिक्रिया