सडक डिभिजनका इन्जिनियरसहित चार जनाविरुद्ध दुई करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा


काठमाडौं, —सडक डिभिजन कार्यालय, लहान (सिराहा) का तत्कालीन प्रमुख डिभिजनल इन्जिनियर रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा सरकारी योजना अन्तर्गतको सडक ढलान कार्यमा व्यापक अनियमितता र हिनामिनासहित गुणस्तरहीन सामाग्री प्रयोग गरी भ्रष्टाचार गरिएको उल्लेख गरिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सिराहाको कल्याणपुर नगरपालिका–५, चिकनास्थित प्रदेश सरकारको योजना अन्तर्गत निर्माण व्यवसायीलाई जिम्मा दिइएको सडक ढलान कार्यमा झण्डै तीन करोड रुपैयाँ बराबरको गुणस्तरहीन सामाग्री प्रयोग गरिएको पाइएपछि अनुसन्धान अघि बढाइएको हो।

२०७७ असार २१ गते सम्झौता भई चैत ३० भित्र कार्य सम्पन्न गर्ने सर्तमा काम सुरु भएको उक्त आयोजना २०७७ पुस ५ मा सम्पन्न देखाइएको र पुस २६ मा नापजाँच भएको देखिन्छ। सो अवधिमा निर्माण सामाग्री परीक्षणको लागि ५० वटा क्युब नमुना सडक डिभिजन लहानकै ल्याबमा परीक्षण गरी सकारात्मक नतिजा देखिने गरी रिपोर्ट तयार पारिएको आयोगको दाबी छ।

यसबाहेक, निर्माणस्थलबाट कोर कटिङ विधिबाट नमुना सङ्कलन गर्नुपर्नेमा प्रतिवादीहरूको मिलेमतोमा निर्माण सम्पन्न भएपछि २०७७ पुस ६, ७ र ८ गते पुनः क्युब कास्टिङ गरेर परीक्षण गरिएको देखिएको छ। ती नमुना सडकमा प्रयोग नै नगरिएका थिए। गलत परीक्षण प्रतिवेदनका आधारमा भुक्तानीसमेत लिइएको आयोगको निष्कर्ष छ।

कस–कसलाई मुद्दा?

  • रविन्द्रलाल दास — तत्कालीन डिभिजन इन्जिनियर (प्रमुख)
  • शैलेन्द्र कुमार चौधरी — तत्कालीन इन्जिनियर
  • चन्द्रकान्त चौधरी — तत्कालीन सब–इन्जिनियर
  • जफिर कवारी — रब्बानी कन्स्ट्रक्सनका प्रोपराइटर (जय धनञ्जय/रब्बानी जेभीको तर्फबाट)

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानासहितको सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

तपाईको प्रतिक्रिया