सचिव बढुवामा न्याय माग्दै अदालत पुगिन् मिश्रा : सरकारसँग सर्वोच्चले माग्यो कारण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा ने सचिव बढुवामा अन्याय भएको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

वरिष्ठताको क्रममा अगाडि भए तापनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्राले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर चैत १ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्। उक्त रिटमाथि आइतबार सुनुवाई गर्दै अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

२१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। जबकि लोकसेवा आयोगसमेत सहभागी रहेको बढुवा सिफारिस समितिले वरिष्ठताका आधारमा डा. मिश्राको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो। डा. देवकोटा र अर्का डा. टंक बाराकोटीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएको थियो।

मिश्राले आफूभन्दा जुनियर डा. देवकोटालाई मन्त्रालयको सचिव नियुक्त गरेको भन्दै सार्वजनिकरूपमा विरोध जनाएकी थिइन् र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा समेत माग गरेकी थिइन्। देवकोटा सचिव नियुक्त भएपछि मन्त्रालयले अर्का अतिरिक्त सचिव बाराकोटीलाई भने स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया