सगरमाथा ‘माउन्ट एभरेस्ट’ होइन, त्यो नक्कली नाम हो : प्रधानमन्त्री ओली

विराटनगर, वैशाख १९ — प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ हुनु उचित नरहेको बताएका छन्। विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले ‘माउन्ट एभरेस्ट’ नामलाई नक्कली करार गरेका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार ‘माउन्ट एभरेस्ट’ नाम एक जना ब्रिटिस नापी विशेषज्ञ सर जर्ज एभरेस्टको नामबाट राखिएको हो, जसले स्वयं सगरमाथालाई नभई ल्होत्सेलाई अग्लो शिखर मानेका थिए।

“एभरेस्ट भन्ने ब्रिटिसले त ल्होत्से अग्लो हो भनेका थिए, सगरमाथा होइन। तर, सगरमाथाको नाम उनकै नाममा राखियो, जुन बुझिनसक्नु कुरा हो,” प्रधानमन्त्री ओलीले भने।

उनका अनुसार सर जर्ज एभरेस्टले न त सगरमाथा आरोहण गरेका थिए, न त त्यसलाई विश्वकै सर्वोच्च शिखर ठहर गरेका थिए। “हामीले किन फेरि माउन्ट एभरेस्ट भनिरहनु पर्ने? त्यो त नक्कली नाम हो,” उनले प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले सोलुखुम्बुमा अवस्थित विश्वकै अग्लो हिमाललाई ‘सगरमाथा’ भनेर सम्बोधन गर्नु उपयुक्त हुने धारणा राखे।

तपाईको प्रतिक्रिया