संसदलाई नागरिकसँग जोड्न खरेलले स्थापना गरे सम्पर्क कार्यालय


ललितपुर, चैत्र १९ — ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले नागरिकसँग प्रत्यक्ष सम्वादका लागि सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । चुनावी घोषणापत्रको प्रतिवद्धता अनुसार सांसद खरेलले क्षेत्र नम्बर २ को ग्वार्को क्षेत्रमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्नु भएको हो । बिहीबार सम्पर्क कार्यालयको खरेलले नै औपचारिक उद्घाटन गर्नुभएको छ ।
खरेलले घोषणापत्रमा खरेलले खुला सांसदको अबधारणा अनुसार नागरिकका सवाल र समस्यासँग सम्वादका लागि सांसदको सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गर्नु भएको थियो । सांसदहरुले आफ्नो छुट्टै सम्पर्क कार्यालय स्थापना गर्ने र नागरिकका सवालमा निरन्तर सम्वाद गर्ने अभ्यास नेपालमा छैन ।
ललितपुरकमो ग्वार्को चोक नजिकै रहेको उक्त कार्यालयमा नागरिकले गुनासा, समस्या र सुझाव टिपोर्ट गर्न पाउने र हप्ताको एक दिन ३ घण्टा सांसदसँग सम्वाद गर्न मिल्ने तालिका बनाइएको छ । सांसद खरेल हरेक शनिबार बिहान ७ देखि १० सम्म नागरिकसँग प्रत्यक्ष सम्वादमा रहनुहुनेछ ।


उद्घाटन कार्यक्रममा बोल्दै सांसद खरेलले नागरिकसँग सधै सँगै रहेर काम गर्न र नागरिकका सवाललाई नीतिगत तहमा पुर्याउन सम्पर्क कार्यालय स्थापना गरेको बताउनुभयो । उहाँले नागरिकका हरेक विषय लिपीवद्ध गरेर अध्ययन गर्ने र त्यसका आधारमा संसद, सरकारमा पुर्याउने जानकारी दिनुभयो ।
उहाँले ललितपुर क्षेत्र नं. २ बाट आफूलाई अत्यधिक मतसहित विजयी गराएकोमा मतदाताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले ३९,९४१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको थियो, जुन देशकै ठूलो मतान्तरमध्ये एक मानिन्छ। ठूलो मतान्तरसहित विजयी हुने उम्मेदवारमध्ये उहाँ शीर्ष पाँचभित्र पर्नुभएको थियो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नयाँ कार्यालयले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेख्ने विश्वास व्यक्त गरेका थिए।
आयोजक पक्षले उपस्थित अतिथिहरू तथा सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा सेवा अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सम्पर्क कार्यालय सञ्चालनमा आएपछि स्थानीय स्तरमा सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया