संयन्त्रले समस्या भयो भन्ने लागे खारेज गर्न सकिन्छ : सांसद सूर्य थापा

काठमाडौं – नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्तारूढ दलहरूबीच बनेको राजनीतिक संयन्त्रमा समस्या देखिएको खण्डमा प्रमुख नेताहरूको छलफलबाट खारेज गर्न सकिने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले संयन्त्रको अभ्यासले सत्ता साझेदार दलहरूबीच असमझदारी बढाएको हो भने त्यसलाई विघटन गर्न कुनै आपत्ति नरहने धारणा राखे। “यदि संयन्त्रले समस्या भएको हो भने नेताहरू बसेर त्यसलाई निष्कर्षमा पुर्‍याएर खारेज गरे हुन्छ,” थापाले भने, “तर सत्ता साझेदारभित्रैबाट अस्थिरता बढाउने काम गर्नु हुँदैन।”

उनले दुई ठूला दल—नेपाली कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। “आन्तरिक प्रतिस्पर्धा महाधिवेशनको विषय हो, त्यसले गठबन्धन र सरकारको कामकाजमा असर पार्न हुँदैन,” उनले स्पष्ट पारे।

राजनीतिक संयन्त्रमा कांग्रेस र एमालेका शीर्ष नेताहरू सहभागी छन्, जसले सत्ता सञ्चालन र समन्वयमा भूमिका खेल्दै आएका छन्।

थापाले नेपालको ऊर्जा क्षेत्रमा देखिएको पछिल्लो विवादबारे पनि टिप्पणी गरे। उनका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कांग्रेसका ऊर्जा मन्त्री दीपक खड्काले हटाएका थिए। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीपछि घिसिङ र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाइएको दाबी गरे।

“निर्णय कांग्रेसबाट हुन्छ तर दोष प्रधानमन्त्रीलाई लगाइन्छ, यो ठीक होइन,” उनले असन्तुष्टि जनाए।

तपाईको प्रतिक्रिया