संखुवासभा हत्याकाण्ड: कुडो पकाउदै गरेकी पार्वतीलाई भित्तामा ठोकाएर चिर्पटले हानेर मारे ।

काठमाडौं । संखुवासभाको मादी नगरपालिका- १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेका आरोपीलाई घटना भएको ६ दिनमा प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गर्न सफल भएको छ । गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको शव चार वटा ठाउँमा फेला परेको थियो। आमा पार्वताको घरभित्र फेला परेको थियो भने अरूको बाहिर थियो। हत्यामा संलग्न २६ भनिएका वर्षीय लोकबहादुर कार्की मृतक परिवारको नजिँकका आफन्त हुन् ।प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजे बिचमा भएको थियो। 

घटना विहान साढे ५ बजेको आसपासमा भएको बताइएको छ । पछाडिबाट चिर्पटले हानेर ढालेपछि घरबाट श्रीमती र बुहारी रञ्जनाले देखेर चिच्याउँदै आए । त्यसपछि तेजबहादुरले उनीहरुलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले प्रतिकार गर्न नसक्दा हत्याराले सजिलै हत्या गरेको देखिन्छ । आमाहरुको चिच्याहट सुनेर छोराछोरी बाहिर आएपछि उनीहरुलाई पनि लोकबहादुरले बाँकी राखेनन् । उनले दुई बालबालिकालाई पनि घर माथि लगेर चिर्पट दाउराले हानेर हत्या गरे र घरभित्र कुडो पकाउदै गरेकी पार्वतीलाई पनि भित्तामा ठोकाएर चिर्पटले हानेर मारे । तर घरभित्रै रहेका बौद्धमानलाई भने केही गरेनन् ।

आफूले सबैलाई एउटै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । त्यही चिर्पट घरमा ल्याएर आगो बाली कुँडो पकाएको उनको बयान छ । त्यसपछि उनी केही थाहा नपाएजसरी प्रस्तुत भएका थिए ।

जुन ठाउँबाट लोकबहादुरले तेजबहादुरको शव देखिएको भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो। जसकारण उनीमाथि थप शंका पैदा भएको प्रहरी उपरीक्षक भीम दाहालले बताए। 

‘जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए त्यहाँबाट देखिन्न थियो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,’ प्रहरी उपरीक्षक दाहालले भने,’पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।’ 

आफन्त मरेपछि सामान्य मानिसको जस्तो हुनुपर्ने स्वभाव पनि उनको नपाएको उनले बताए।

लोकबाहादुर काम गर्न केही वर्षअघि मलेसियामा गएका थिए। केही समय काम गरेर बिरामी भएपछि उनी फर्किएका थिए। विदेशबाट फर्किएपछि उनको स्वभाव फरक थियो। उनले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया