श्रीलंकाले अस्ट्रेलियालाई २-० ले पराजित गर्दै सिरिज क्लिनस्विप गर्यो

श्रीलंकाले अस्ट्रेलियाविरूद्धको एकदिवसीय सिरिज २-० ले आफ्नो पक्षमा पार्दै क्लिनस्विप गरेको छ। शुक्रबार कोलम्बोमा भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई १७४ रनको विशाल अन्तरले हराउँदै सिरिजमा २-० को अग्रता बनायो। यसअघि पहिलो खेलमा पनि श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको थियो।

अस्ट्रेलियाले टेस्ट सिरिज भने २-० ले जितेको थियो।

शुक्रबारको दोस्रो एकदिवसीयमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेटको क्षतिमा २८१ रन बनायो। कुशल मेन्डिसले १०१ रन बनाउँदै शतक पूरा गरे भने कप्तान चारिथ असलंका नटआउट ७८ रन बनाउँदा निशान मधुश्काले ५१ रन बनाए।

२८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा मात्र १०७ रनमै अलआउट भयो। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले सर्वाधिक २९ रन बनाएका थिए। अस्ट्रेलियाका आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा श्रीलंकाका दुनिथ वेलालगेले ४ विकेट लिए भने असिथा फर्नान्डो र विनन्दु हसरंगाले ३-३ विकेट लिए।

अस्ट्रेलिया आगामी बुधबारदेखि सुरु हुने च्याम्पियन्स ट्रफीमा समूह ‘बी’ मा हुनेछ। यस समूहमा अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन्। समूह ‘ए’ मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्यान्ड छन्। च्याम्पियन्स ट्रफीका अधिकांश खेल पाकिस्तानमा हुनेछन् भने भारतका खेल युएईमा हुनेछन्।

तपाईको प्रतिक्रिया