शिवरात्रिको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्थाका सबै निकाय सक्रिय हुने

काठमाडौं: पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिहरू मार्फत महाशिवरात्रिको तयारी अन्तिम चरणमा रहेको जानकारी गराएको हो।

पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज मन्दिर दर्शन गराउनका लागि व्यवस्थापन, सुरक्षा व्यवस्था लगायतका सबै तयारी अब अन्तिम चरणमा पुगेको कोषले जनाएको छ।

महाशिवरात्रि पर्वको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति-२०८१’ गठन गरिएको छ, र सो समितिको अधीनमा १० वटा विभिन्न उपसमितिहरू गठन भइसकेका छन्।

महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्रबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ।

नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दू युवा परिषद् लगायतका स्वयंसेवी संस्थाहरूबाट पर्याप्त संख्यामा स्वयंसेवकहरू परिचालित हुनेछन्। साथै, पशुपति प्रवेशका लागि चारवटा प्रवेशद्वारबाट भक्तजनको प्रवेश र दर्शनपूजनको व्यवस्था मिलाइएको जानकारी प्रचार प्रसार उपसमिति संयोजक राजुकुमार खत्रीले दिए।

कोषले पशुपति क्षेत्रका लागि मांस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण, बिक्री, वितरण र ओसारपसार नगर्न र नगराउन सचेत गराएको छ। यस वर्षको महाशिवरात्रिमा पाँच लाख भक्तजनको दर्शन गर्ने अनुमान गरिएको छ।

महाशिवरात्रि मनाउन विभिन्न देशका साधुसन्तहरूले पशुपतिनाथ मन्दिरमा आगमन गरिसकेका छन्। यस वर्ष महाशिवरात्रि फागुन १४ गते बुधबार मनाइँदैछ।

तपाईको प्रतिक्रिया