शाहीद्वारा सभापति रामहरि खतिवडाको राजीनामा माग

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।

सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले ‘कुलिङ पिरियड’को व्यवस्था सम्बन्धी विधेयकको प्रक्रिया विवादास्पद बनेको भन्दै सभापति खतिवडाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएका हुन्। उनका अनुसार विधेयकमा गरिएको हेरफेर गम्भीर प्रकृतिको विषय हो, जसले कानुन निर्माण प्रक्रियामै प्रश्न उठाएको छ।

“यो जघन्य अपराध हो, यसमा निष्पक्ष छानबिन आवश्यक छ,” शाहीले भने, “कानुन निर्माणमा यस्तो चलखेल हुनु भनेको राज्यविरुद्धको अपराध हो।”

उनले संसद्का सदस्यहरूको भूमिकामाथि नै प्रश्न उठ्ने गरी भएको यो कार्य गैरजिम्मेवारपूर्ण भएको बताउँदै त्यसमा संलग्न कर्मचारीहरूमाथि पनि कारबाहीको माग गरेका छन्।

शाहीले थप भने, “यदि यो कार्य कर्मचारीबाट भएको हो भने उनीहरूलाई राज्यविरुद्धको कसुरमा सजाय दिनुपर्छ। तर समितिका सभापतिको जिम्मेवारी भएकाले उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उचित हुन्छ।”

विवादको मूल विषय संसद्मा प्रस्तुत विधेयकसँग सम्बन्धित छ। ०८० फागुनमा दर्ता भएको विधेयकमा संवैधानिक, कूटनीतिक वा अन्य कुनै पनि सरकारी नियुक्तिमा ‘पूर्वस्वीकृति’ लिने व्यवस्था उल्लेख गरिएको थियो। तर समितिबाट पारित हुँदै संसद्मा पुगेको बेलामा ‘बाहेक’ भन्ने शब्दको समावेश/हेरफेर भएपछि उक्त प्रावधान विवादमा परेको हो। यसले विधेयकको मूल मक्सदमा परिवर्तन आएको भन्दै आलोचना भइरहेको छ।

तपाईको प्रतिक्रिया