शारदामा मानव मलमूत्र व्यवस्थापनका लागि छलफल , युएन ह्याबिट्याटसँग सहकार्य

सल्यान: सल्यानको शारदा नगरपालिकाले मानवजन्य मलमुत्र लेदो (दिसा–पिसाब)  व्यवस्थापनमा भविष्यमा देखिन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै समयमै पूर्वतयारी थालेको छ। ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम’ अन्तर्गत युएन ह्याबिट्याट र शारदा नगरपालिकाबीच आज भएको छलफलमा यस्तो तयारीबारे जानकारी दिइएको हो।
छलफलका क्रममा नगर उपप्रमुख सुस्मिता सापकोटाले हालसम्म शौचालयका सेप्टिक ट्याङ्क भरिएर ठूला समस्या नआए पनि निकट भविष्यमै चुनौती देखिन सक्ने बताउनुभयो।  “अहिले तत्काल समस्या छैन, तर भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले आवश्यक नीतिगत तयारी पूरा गरिसकेको छ र कानुनी संरचनाहरू पनि निर्माण भइसकेका छन्।” उहाँले भनुभयो ।
शारदा नगरपालिकाको श्रीनगर क्षेत्रमा तीव्र रूपमा शहरीकरण बढ्दै गए पनि नागरिकस्तरमा चेतनाको कमी, नगरपालिकाको सीमित बजेट तथा भवन निर्माण संहितामा स्पष्ट व्यवस्था नहुनाले गुणस्तरीय सेप्टिक ट्याङ्क निर्माण हुन नसकेको अवस्था रहेको जनाइएको छ।
नगर प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले मानव मलमूत्र प्रशोधन केन्द्र तथा सेप्टिक ट्याङ्क निर्माणको प्राविधिक पक्ष अध्ययन गरी आवश्यक नीति परिमार्जन गरिने जानकारी दिनुभयो । “अहिले विस्तारै सेप्टिक ट्याङ्कहरू भरिन थालेका छन्, त्यसैले नगरपालिकाले सक्सन ट्याङ्क खरिद गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वा अन्य स्थानीय तहबाट आवश्यक उपकरण ल्याउने विषयमा निर्णय गर्न लागिएको छ।” उहाँले भनुभयो ।
छलफलमा युएन ह्याबिट्याटका प्रतिनिधि राजेश मानन्धर, भिन्तुना श्रेष्ठ र वाटरएड नेपाल, वरिष्ठ वास नीति सल्लाहकार गोविन्द श्रेष्ठले क्षेत्र अनुसारको सेप्टिक ट्याङ्कको गुणस्तरीय निर्माण र प्रभावकारी नियमन गर्न सकिएमा भविष्यमा देखिन सक्ने समस्यालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए।
गएको असार १४ गते युएन ह्याबिट्याट, नेपाल नगरपालिका संघ, वाटरएड नेपाल तथा सात वटा नगरपालिकाबीच गरिएको बहुपक्षीय सम्झौताअनुसार यो कार्यक्रम सुरु गरिएको हो। सातै प्रदेशबाट एक–एक नगरपालिका छनोट गरिएकोमा कर्णाली प्रदेशबाट शारदा नगरपालिका समेटिएको छ।

कार्यक्रम अन्तर्गत शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजार निर्माण, तथ्याङ्क संकलन तथा अद्यावधिक, कार्यसम्पादन सूचक र मानक तय, जनशक्ति क्षमता अभिवृद्धि तथा मानवजन्य मलमुत्र लेदो  व्यवस्थापनमा कार्यरत कर्मचारीहरूका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग र सम्बन्धित मन्त्रालयमार्फत तालिम सञ्चालन गरिनेछ।

शारदा नगरपालिकामा सञ्चालित यस कार्यक्रमले दीर्घकालीन मानवजन्य मलमुत्र लेदो, पूर्वाधार सुदृढीकरण तथा वातावरणीय सुरक्षाको दिशामा ठोस आधार तयार गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया