शहीद घोषणामा त्रुटि भएको अध्यक्ष प्रचण्डको स्वीकारोक्ति

रूकुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद घोषणाको प्रक्रियामा त्रुटि भएको स्वीकार गरेका छन्।

मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत रूकुमको चौरजहारीमा आयोजित कार्यक्रममा सशस्त्र द्वन्द्वका घाइते, अपाङ्ग, शहीद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँगको अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन्।

“शहीद घोषणाका लागि केन्द्रबाट तलसम्म विवरण मागिएको थियो, तर विवरण पठाउने क्रममा केही त्रुटि भएका कारण सबैलाई समेट्न सकिएन,” प्रचण्डले स्पष्ट पारे। उनले वर्तमान गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ र एकता आवश्यक रहेको पनि बताए।

कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरूले उपचार, शिक्षा, रोजगारी र बेपत्ताको राज्यद्वारा मान्यता जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले राज्यबाट पाउनुपर्ने अधिकार अझै नपाएको गुनासो गरेका थिए।

अध्यक्ष प्रचण्डले द्वन्द्वपीडितहरूको पीडा बुझ्दै संवाद र समीक्षा गर्दै जनतामाझ नयाँ अभियान लिएर जाने प्रतिबद्धता जनाए। उनले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै अहिले बनेको समितिले निर्धारित कार्यविधिअनुसार प्रभावकारी रूपमा काम गर्नुपर्नेमा पनि जोड दिए।

तपाईको प्रतिक्रिया