शहरी विकासः योजना छ इच्छाशक्ति छैन

नेपाल लुक संवाददाता
नेपालमा प्रत्येक दुई वर्षमा शहरी विकासको योजना बन्ने गर्छ । २०२८ सालदेखि सुरु भएको यो क्रम अहिले पनि जारी छ । तर जति योजना बन्छन् त्यसको ब्यवहारिक कार्यान्वन भने करिव करिव उल्टो हुने गरेको बताउँछन् शहरी विकास विज्ञ पीएस जोशी ।

टेलिभिजन कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै जोशीले भने ‘लामो समयको अध्ययनले काठमाण्डौमा रिङ्ग रोड बनाउन नहुने भनेर सुझाव दिएको थियो तर कार्यान्वयनमा ठीक उल्टो भयो ’। उनले काठमाण्डौ उपत्यका अस्त ब्यस्त हुनुको कारण सम्वद्ध निकायमा इच्छाशक्तिको अभावको रुपमा औल्याए । ढल ब्यवस्थापनको लाजलाग्दो स्थिति रहेको भन्दै उनले माथि ठूलो तल सानो मुख भएको ढल राखिने गरेको उदाहरण दिए ।
अर्कोतिर नदी र खोलाहरुको प्राकृतिक बहाव रोक्ने गरी पूर्वाधार निर्माण गरिदा समस्या भएको जोशीले उल्लेख गरे । काठमाण्डौ उपत्यकालाई अझै पनि व्यवस्थित , मौलिक र आधुनिक शहरको रुपमा स्थापित गर्ने संभावना रहेको भन्दै उनले त्यसका लागि इच्छाशक्ति नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे । ‘काठमाण्डौ उपत्यका यस्तो क्षेत्र हो जहाँ ब्यवस्थित शहर निर्माणका लागि प्रत्येक दुई वर्षमा योजना बन्छन् तर त्यसको सफल कार्यान्वयन हुन सक्यो कि सकेन भन्ने कुराको गम्भीर समीक्षा कहिल्यै हुँदैन ’जोशीले भने ।


टेलिभिजन कार्यक्रममा सहभागी शहरी विकास मन्त्रालयकी सहसचिव सरीता श्रेष्ठ मास्केले अन्तर मन्त्रालय समन्वयको स्थिति अत्यन्त कमजोर रहेको वताइन् । ‘शहरको कुरा गर्नासाथ विभिन्न निकायहरु जोडिन्छन्, त्यहाँ पानीदेखि ढल र विजुलीसम्मको विषय जोडिन्छ, तर उचित समन्वयको अभावमा ब्यवस्थित ढंगले काम हुन सक्तैन ’उनले भनिन् ।
अहिले सबै पक्षलाई समेटेर ऐन बनाइएको भएपनि त्यसमा समेत मत बाझिएको जानकारी दिँदै सहसचिव श्रेष्ठले सकेसम्म छिटो ऐन ल्याउने गरी गृहकार्य गरिरहेको उल्लेख गरिन् । उनले नीति, रणनीति र स्पष्ट कार्ययोजनाकासाथ अघि वढ्न प्रयास भइरहे पनि थुप्रै जटिलताहरु बाँकी रहेको वताइन् । ब्यवस्थित शहर निर्माण कुनै एउटा पक्षको सहभागितामा मात्र संभव नहुने भन्दै उनले यसमा सबै पक्षको साथ सहयोग आवश्यक पर्ने वताइन् ।

तपाईको प्रतिक्रिया