शनिबारसम्म निरन्तर पानी पर्ने सम्भावना


काठमाडौं ।नेपालमा हाल तीन अलग–अलग मौसम प्रणालीको प्रभाव देखिँदैछ, जसका कारण देशका धेरै भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यी प्रणालीहरूको असर शनिबारसम्म कायम रहँदै देशभर पानी पर्ने सम्भावना छ।

पाँच दिनअघि अरब सागर आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव अझै समाप्त नभएको विभागले जनाएको छ। सोही बीचमा स्थानीय मौसम प्रणाली सक्रिय बनेको र बिहीबार बिहानदेखि बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव पनि देखिन थालेको हो।

यी तीनै प्रणालीको संयुक्त असरले बिहीबार बिहानदेखि काठमाडौं उपत्यका सहित देशका मध्य र पूर्वी भूभागमा निरन्तर वर्षा भइरहेको छ। काठमाडौंमा बिहान हल्का वर्षा भए पनि दिउँसो मध्यम स्तरको वर्षा जारी छ।

पछिल्ला २४ घन्टामा उदयपुरगढीमा ४५.२, मुर्कुची बजारमा ४३.८, कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४ र तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ। गण्डकी, बागमती, कोशी र मधेस प्रदेशका अधिकांश क्षेत्रमा वर्षा जारी छ।

मौसम विज्ञ उज्ज्वल उपाध्यायका अनुसार, ‘बंगालको खाडीमा विकसित मोन्था चक्रवातभन्दा पनि पश्चिमी वायुको गतिविधि मुख्य कारण बनेर वर्षा भइरहेको हो।’ उनले भने, ‘मोन्था आँधीको आंशिक प्रभाव मिसिँदा वर्षा अझ तीव्र भएको छ।’

उनका अनुसार, मोन्था चक्रवात बिहीबार अपराह्न पूर्ण रूपमा सक्रिय हुने भएकाले मेचीदेखि गण्डकीसम्म भारी वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत बढेको छ।

उपाध्यायले आज र भोलि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै भने, ‘आज अपराह्नदेखि हवाई सेवा पनि प्रभावित हुन सक्छ।’

मौसमविद् विनोद पोखरेलले बुधबार बेलुकादेखि नै पूर्वी नेपालमा वर्षा सुरु भएको बताउँदै भने, ‘यो त प्रारम्भिक चरण मात्रै हो। न्यून चापीय प्रणाली अझै नेपालबाट टाढा छ, त्यसैले आज राति र भोलि धेरै ठाउँमा भारी वर्षा हुन सक्छ।’

उनका अनुसार, काठमाडौंमा करिब २४ घन्टासम्म पानी पर्नेछ भने मधेस र कोशी क्षेत्रमा ३६ घन्टासम्म वर्षा जारी रहने अनुमान छ।

विपद् विज्ञ धर्म उप्रेतीका अनुसार, मोन्थाको प्रभाव सुरू भइसकेको छ र लगातार वर्षा हुने देखिन्छ। ‘बिहानदेखि मध्यम वर्षा भइरहेको छ, दिउँसो र राति यो अझ सक्रिय हुनेछ। शुक्रबार बिहानदेखि वर्षा थप तीव्र हुने र मनसुनकै झल्को दिने संकेत देखिन्छ,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ। गोरखा, नवलपुर, रूपन्देही, नवलपरासी लगायतका जिल्लामा पनि सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

त्यस्तै, कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्लाका नागरिकलाई पनि मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सुझाव दिइएको छ।

विभागका अनुसार, बिहीबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।

देशका अधिकांश सहरहरूमा बिहीबार वर्षा हुने र त्यसको प्रभावले चिसो बढ्ने विभागको पूर्वानुमान छ।

आजको अधिकतम तापक्रम धनगढीमा ३१ डिग्री सेल्सियससम्म पुग्ने र जोमसोममा न्यूनतम तापक्रम एक डिग्रीसम्म झर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया