वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चारजना काठमाडौंबाट पक्राउ

काठमाडौं । विदेशमा रोजगारी दिलाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीको आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–४ बसोबास गर्दै आएका तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय विकास गुरुङ, काठमाडौं महानगरपालिका–३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ की ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका–३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–१ का ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका–२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–३ का ५२ वर्षीय लोकजन खड्का रहेका छन्।

प्रहरीका अनुसार विकास गुरुङले अजरबैजान पठाइदिने भन्दै दुई जनाबाट ५ लाख रुपैयाँ लिएका थिए भने रन्जना अधिकारीले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रुपैयाँ असुलेकी थिइन्। त्यसैगरी यादव प्रसाद घिमिरेले जापान पठाउने भन्दै एक व्यक्तिबाट ५० हजार रुपैयाँ र लोकजन खडकाले थाइल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट ४ लाख ४० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको पीडितको उजुरीमा उल्लेख गरिएको छ।

प्रहरीले विकास र यादव प्रसादलाई काठमाडौं महानगरपालिका–१२ बाट, रन्जनालाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार र लोकजन खडकालाई काठमाडौं महानगरपालिका–३ बाट बुधबार पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया