वृद्धभत्ता हिनामिनामा बाँकेका पूर्व गाविस अध्यक्षसहित १७ जनाविरुद्ध १० वर्षपछि भ्रष्टाचार मुद्दा

काठमाडौं । वृद्धभत्ता हिनामिनासँग जोडिएको एक दशकअघिको घटनामा बाँके जिल्लाको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन गाविस सचिवहरू सावितराम कुर्मी र अशोककुमार श्रीवास्तवसहित भत्ता लिने १४ जना लाभग्राही संलग्न छन्।

अनुसन्धानका क्रममा २०५७/५८ देखि २०७२/७३ सम्मको अवधिमा उमेर नपुगेका, नागरिकता नभएका, र भारतमा विवाह गरी बसेकालाई समेत झुटा विवरणका आधारमा वृद्ध परिचयपत्र बनाइ वृद्धभत्ताको रकम वितरण गरिएको पाइएको अख्तियारले जनाएको छ। यसरी गैरकानुनी रूपमा वितरण गरिएको भत्ताबाट राज्यलाई ६ लाख ५६ हजार ७ सय रुपैयाँ बराबरको हानि पुगेको छ।

भत्ता लिएका पाँच व्यक्तिको मृत्यु भइसकेको हुँदा उनीहरूको भागको बिगो तत्कालीन सचिव सावितराम कुर्मीबाट असुल उपर गर्न माग गरिएको आयोगले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया