विश्व पौडेलविरुद्ध दायर रिट सर्वोच्चबाट खारेज

काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलको सम्भावित नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज (दरपीठ) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट निवेदन दरपीठ गर्ने आदेश दिएका हुन्।

सर्वोच्चका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार, निवेदक पक्षले रिटमार्फत सामूहिक हक तथा अधिकारमा कसरी प्रभाव पर्ने भन्ने विषयमा पर्याप्त स्पष्टता दिन नसकेको उल्लेख गरिएको छ। साथै, पौडेललाई गभर्नर सिफारिस गरिएको कुनै आधिकारिक प्रक्रिया नरहेको र निवेदन अझै अनिश्चित अवस्थाका आधारमा पेस गरिएको पाइएकाले रिट दरपीठ गरिएको हो।

गभर्नर बन्नका लागि पौडेल योग्य छैनन् भन्ने दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले उक्त रिट दायर गरेका थिए।

तपाईको प्रतिक्रिया