विवेकशील साझा पार्टीद्वारा वैकल्पिक शक्ति र जेनजीसँग बृहत्तर एकताको आह्वान

काठमाडौं । विवेकशील साझा पार्टीले देशभर फैलिएको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वैकल्पिक शक्ति, जेनजी पुस्ता र स्वतन्त्र अभियानहरूसँग बृहत्तर एकताको लागि सार्वजनिक आह्वान गरेको छ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भदौमा भएको जेनजी आन्दोलनलाई ‘विद्रोह’को रूपमा व्याख्या गर्दै त्यसका क्रममा सहादत प्राप्त युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ‘निर्घात दमन र नरसंहार’ भएको भन्दै ओली नेतृत्वको सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिक भाष्य परिवर्तन गर्न सफल विवेकशील साझा पार्टी अहिलेको विषम परिस्थितिमा वैकल्पिक शक्ति, जेनजी पुस्ता, परिवर्तनकारी अभियान र समूहहरूको मोर्चाबन्दीका लागि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दछ।”

पार्टीले आफू विगत एक दशकदेखिको राजनीतिक यात्रालाई जनताको हितमा पुनः परिभाषित गर्न तयार रहेको जनाउँदै नाम, चुनाव चिन्ह र संरचनासम्म परिवर्तन गर्न खुला रहेको जनाएको छ।

आगामी आम निर्वाचनलाई लक्षित गर्दै विवेकशील साझा पार्टीले वैकल्पिक शक्ति निर्माणका लागि नयाँ दलहरू, स्वतन्त्र अभियन्ता र जेनजी आन्दोलनसँग कार्यगत एकता तथा सहकार्य गर्न छलफल सुरु गरिने जनाएको छ।

पार्टीले भ्रष्टाचार र कुशासनविरुद्धको लडाइँलाई अझ प्रभावकारी बनाउँदै ‘नयाँ राजनीतिक संस्कार र वैचारिक स्पष्टता’को साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया