विपद् सूचना प्रवाह प्रणाली प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौं । विपद्को समयलाई ध्यानमा राख्दै सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङबीच छलफल भएको छ।

सोमबार सहरी विकास मन्त्रालयमा भएको भेटमा सञ्चार मन्त्रालयले विपद् जोखिम न्यूनीकरणमा कस्तो भूमिका खेल्न सक्छ भन्नेबारे छलफल गरिएको हो।

यसअघि आइतबार सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद् बैठकले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो। त्यसको कार्यान्वयनमा सूचना प्रवाहको महत्वबारे बैठकमा विस्तृत छलफल भएको हो।

छलफलका क्रममा विपद् जोखिम भएका क्षेत्रका बासिन्दालाई समयमै सचेत गराउने उपायहरूबारे चर्चा भयो। त्यसमा एसएमएसमार्फत सूचित गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसमसम्बन्धी बुलेटिन प्रसारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाउने जस्ता विधिहरूको प्रयोग गर्ने प्रस्ताव गरियो।

सञ्चारमन्त्री गुरूङले सूचना प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि सम्बन्धित निकायहरूसँग छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यवाहक प्रधानमन्त्री सिंहले मौसम पूर्वानुमानसँगै पूर्वसूचना प्रणाली मजबुत बनाउने हो भने संभावित क्षति न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताए। उनले विपद् व्यवस्थापनमा सूचना प्रवाह निर्णायक हुने भन्दै यसलाई व्यवस्थित र प्रभावकारी बनाउन जोड दिएका छन्।

तपाईको प्रतिक्रिया