विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण : नेतृत्व चयनको सकस् !


नेपाल लुक संवादाता
कात्तिक २५–काठमाडौं .

सरकारले विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका ( सिइओ) नियुक्तिका लागि यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको छ । कार्तिक ८ गते अर्को सूचना प्रकाशित गरी गृह मन्त्रालयले प्राधिकरणको (सिइओ) बन्नका लागि उमेर हद वढाएको हो । यसअघि ३५ देखि ५५ वर्ष उमेर समूहका ब्यक्तिलाई आवेदन दिन भनिएको थियो, तर अपेक्षाकृत आवेदन प्राप्त नभएपछि गृहले उमेर हद बढाएर ६० वर्ष पुर्याएको छ । दोस्रो पटक प्रकाशित सूचना अनुसार कार्तिक २२ गते आवेदन दिने समय सकिएको छ । तर यसपटक पनि प्राधिकरणको सिइओ बन्न अपेक्षित आवेदन प्राप्त नभएको गृह मन्त्रालय स्रोतको भनाई छ । दोस्रो पटक जारी सूचना अनुसार आवेदन दिने समय समत सकिएकाले अबको केही दिनमा नै प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस हुन सक्ने बुझिएको छ । समितिले तीन जनाको नाम सिफारिस गरेपछि त्यस मध्येबाट सरकारले एकजनालाई कार्यकारी प्रमुख बनाउने छ । सिइओ नियुक्तिको विषय अघि वढेसँगै यसको नेतृत्वलाई लिएर चर्चा तिव्र बनेको छ । प्राधिकरणमा कस्तो नेतृत्वको आवश्यक्ता छ ? कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्लान् ? भन्ने विषयमा सरोकारवालाहरुबीच बहस जारी छ । तर गृह स्रोतका आवेदकहरु मध्येबाट तीन जनाको नाम सिफारिस गर्न समेत समितिलाई सकस भएको छ । अपेक्षित अनुहारहरुले आवेदन नदिएपछि के गर्ने भन्नेबारे छलफल चलिरहेको छ । आवेदन दिनेहरु योग्य नठरिएको अवस्थामा यो प्रक्रिया अझै लम्बिन सक्नेछ ।

गृह स्रोतका अनुसार, गृह सचिव राई नेतृत्वमा पूर्व सहसचिव डा. हरिदत्त पाण्डे र डा. दिपक चम्लागाँई सदस्य रहेको समितिले प्राप्त आवेदनहरुको बिस्तृत अध्ययन थालिसकेको छ । प्राधिकरणमा सिइओ नियुक्तिको तयारी भइरहँदा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेल विपदको समग्र क्षेत्रलाई बुझेको ब्यक्तिलाई सिइओ बनाउनुपर्ने बताउनु हुन्छ । ईमेज टेलिभिजनको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा पोखरेलले राजनीतिक, नेतृत्वलाई समेत विश्वासमा लिनसक्ने, केन्द्र, प्रदेश र स्थानीय तहबीच उचित समन्वय गर्न सक्ने ब्यक्तिलाई प्राधिकरणको सिइओ बनाउनुपर्ने वताउनुभयो । समग्र विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा काम गर्नु चुनौतिपूर्ण हुने भन्दै उहाँले आर्थिक स्रोतको उचित प्रवन्ध गरेर प्रभावकारी काम गर्न सक्ने ब्यक्तिले मात्रै प्राधिकरणलाई सही नेतृत्व दिन सक्ने धारणा राख्नु भयो । पोखरेलले प्राधिकरणमा सिइओ नियुक्ति गर्दा ब्यवस्थापकीय मात्र नभई नेतृत्व क्षमतालाई पनि ध्यान दिनुपर्ने वताउनु भयो । राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्राधिकरणको सिइओ नियुक्ति गर्नुपर्ने भन्दै पोखरेलले तत्कालको लाभहानी नहेरी विपद्को क्षेत्रमा परिणाममुखी काम गर्न सक्ने ब्यक्तिलाई नै नेतृत्वमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।

पोखरेलको जस्तै मत छ विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐनको प्रारम्भिक मस्यौदा निर्माणमा भूमिका खेल्नु भएका गृह मन्त्रालयका पूर्व सचिव नारायण गोपाल मलेगोको । प्राधिकरणमा जागिरका लागि नभई परिणाममुखी काम गर्न सक्छु भन्ने आत्मविश्वास र त्यही अनुसारको कार्ययोजना भएको ब्यक्तिलाई ल्याइनुपर्ने मलेगोले वताउनु भयो । तीन वटै सुरक्षा निकायसँग उचित समन्वय गर्न सक्ने, मन्त्रालयहरुसँग राम्रो सम्बन्ध बनाएर काम लिनसक्ने, नेतृत्वलाई साथमा लिनसक्ने ब्यक्तिलाई प्राधिकरणको नेतृत्व दिनुपर्ने उहाँको मत छ । विपद्को क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाहरुले सिफारिस प्रक्रियामा ब्यक्तिको क्षमता, कार्यशैली र व्यवसायिकतालार्ई ध्यान दिन सुझाव दिँदै आएका छन् ।
प्रारम्भमा विपद् ब्यवस्थापन ऐनले प्राधिकरणलाई कमजोर बनाउन खोजेको थियो । तर ऐन संशोधन गरी प्राधिकरण सिधै प्रधानमन्त्रीको अध्यक्षतामा रहने विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन कार्यकारी परिषद्प्रति जवाफदेही हुने ब्यवस्था गरिएको छ । जसबाट प्राधिकरण विपद् जोखिम न्युनिकरणको काम एकीकृत ढंगले गर्ने शक्तिशाली निकायको रुपमा स्थापित हुने अपेक्षा गर्न सकिन्छ । आशा गरौं सिफारिस प्रक्रियामा ब्यक्तिको क्षमता, कार्यशैली र व्यवसायिकतालार्ई पर्याप्त ध्यान दिइनेछ । अनि, कुशल नेतृत्वको माध्यमबाट प्राधिकरण विपद् जोखिम न्युनिकरणको काम एकीकृत ढंगले गर्ने शक्तिशाली निकायको रुपमा स्थापित हुनेछ ।

तपाईको प्रतिक्रिया