विद्युत् महसुल समायोजनको तयारीमा प्राधिकरण

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले लामो समयपछि विद्युत् महसुल समायोजनको तयारी थालेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले समयानुकूल महसुल समायोजन गर्ने बताएका हुन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले विद्युत् महसुल तीन वर्षदेखि समायोजन नभएको जनाउँदै यसलाई अब सन्तुलित ढंगले समायोजन गरिने स्पष्ट पारे। ‘तीन वर्षदेखि महसुल समायोजन गरिएको छैन, त्यसैले अब आवश्यक समायोजन गरिनेछ,’ उनले बताए।

प्राधिकरणले आर्थिक, प्रशासनिक तथा संस्थागत संरचनासहितको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै श्वेतपत्र सार्वजनिक गरेको छ। शाक्यले पत्रकार सम्मेलनमार्फत उक्त श्वेतपत्र सार्वजनिक गरेका हुन्।

श्वेतपत्रमा प्राधिकरणको हालसम्मको उपलब्धि, वर्तमान अवस्था, सम्भावना र चुनौतीहरूको विश्लेषण गरिएको छ। भविष्यका योजनाहरूको खाका पनि प्रस्तुत गरिएको छ। यसअघि मंगलबार श्वेतपत्र सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको थियो।

श्वेतपत्रअनुसार, हाल देशका ९७.५ प्रतिशत स्थानीय तहहरू र ९५ प्रतिशत वडा क्षेत्रमा विद्युत् सेवा पुगेको छ। घरधुरी आधारमा ९१.४१ प्रतिशत तथा परिवार संख्याका आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको उल्लेख छ।

त्यस्तै, २०८१ साल माघ महिनासम्म प्रसारण प्रणालीमा ३.३८ प्रतिशत र वितरण प्रणालीमा ९.२१ प्रतिशत विद्युत् चुहावट रहेको जानकारी पनि श्वेतपत्रमा समावेश गरिएको छ।

यसपटक सार्वजनिक गरिएको श्वेतपत्र प्राधिकरणको इतिहासमा दोस्रो हो। यसअघि २०६३ सालमा पहिलोपटक श्वेतपत्र सार्वजनिक गरिएको थियो। चैत १२ गते बसेको प्राधिकरण बोर्ड बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो भने वैशाख १५ गतेको बैठकले त्यसलाई स्वीकृत गरेको हो।

तपाईको प्रतिक्रिया