विदेशमा रहेको भ्रष्टाचारको पैसा फिर्ता ल्याउन असफल :अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम कुमार राई

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का प्रमुख प्रेम कुमार राईले सिंगापुर, अमेरिका लगायतका मुलुकहरूमा पुगेको भ्रष्टाचारजन्य पैसा पत्ता लागे पनि नेपाल फर्काउन नसकिएको बताएका छन्।

बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै प्रमुख राईले विदेशी सरकारहरूसँग आवश्यक द्विपक्षीय सम्झौता (बाइल्याटरल एग्रिमेन्ट) नभएको कारण भ्रष्टाचारको धन नेपाल ल्याउन कठिन भएको बताए।

उनले सिंगापुरले आफूसँग एग्रिमेन्ट भएको अवस्थामा मात्र त्यस्ता रकम फिर्ता गरिने स्पष्ट पारेको जानकारीसमेत दिए।

राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा अकुत सम्पत्ति लुकाउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार प्रभावशाली व्यक्तिहरूले कालो धन विदेशमा लगानी गरी कम्पनी दर्ता गर्दै शुद्धीकरण गरिरहेको तथ्य खुल्न थालेको छ। तर, त्यस्ता सम्पत्ति जफत गर्न कानुनी र कूटनीतिक झन्झट भएको उनले उल्लेख गरे।

नेपालबाट सिंगापुर, अमेरिका लगायतका कर छली वा शंकास्पद ढंगले कम्पनी खोल्ने र सम्पत्ति स्थानान्तरण गर्ने प्रवृत्तिबारे विगतमा सार्वजनिक बहस भए पनि ती रकम फिर्ता ल्याउन हालसम्म उल्लेखनीय प्रगति भएको छैन।

तपाईको प्रतिक्रिया