वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराधको न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग संलग्न विभिन्न निकाय बीच समन्वयको आवश्यकता भएको बताएका छन्। सम्पत्ति शुद्धीकरण निवारण दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस प्रणालीमा कार्यरत सूचक संस्था, नियामक निकाय, कानूनी कार्यान्वयन गर्ने निकाय र न्यायिक संस्थाहरू बीच सुसंगत समन्वयका साथ काम गर्न आवश्यक रहेको बताएका छन्।

उनले भने, “अपराधजन्य गतिविधिहरूबाट उत्पन्न सम्पत्ति वित्तीय प्रणालीमा प्रवेश नगर्न र वित्तीय स्वच्छता कायम राख्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारी कार्यान्वयन आवश्यक छ।” उनले थपे कि अस्वस्थ वित्तीय क्रियाकलापले देशको अर्थतन्त्र र शासकीय व्यवस्था मा समस्याहरू ल्याउन सक्छ, त्यसैले यसको निवारणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्नु आवश्यक छ।

प्रधानमन्त्री ओलीले असल मनसायका साथ पेशा, व्यापार वा व्यवसाय सञ्चालन गर्ने सबैलाई विश्वास र समर्पणका साथ कार्य गर्न आग्रह पनि गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘वित्तीय क्रियाकलापमा पारदर्शिता र सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने मूल नारासहित यस दिवसको पहिलो संस्करण मनाएको हो। नेपाल सरकारले मनी लाउन्डरिङ निवारण ऐन, २०६४ जारी भएको अवसरमा माघ १४ गतेलाई सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया