वायु प्रदूषण नियन्त्रणमा साइकल प्रभावकारी, विज्ञहरूको सुझाव

काठमाडौं — वायु प्रदूषण न्यूनीकरणका लागि साइकल प्रयोग प्रभावकारी हुने निष्कर्षसहित ‘स्वच्छ हावाका लागि साइकल’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल साइकल सोसाइटीको आयोजनामा बुधबार त्रिपुरेश्वरस्थित मार्टिन चौतारीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि साइकल उपयुक्त विकल्प भएको बताएका हुन्।

कार्यक्रममा सहरी योजनाकार रिजा जोशीले काठमाडौं उपत्यकामा साइकल प्रयोगको सम्भावना र चुनौतीबारे प्रकाश पारिन्। “हाम्रो देशको यातायातसम्बन्धी कानुनले अझै साइकललाई समेटेको छैन,” उनले भनिन्, “यदि साइकल प्रयोगलाई बढावा दिनुपर्छ भने छुट्टै साइकल लेनको विकास गर्नुका साथै सम्बन्धित ऐन तथा नियमको निर्माण आवश्यक छ।”

जनस्वास्थ्यविद् डा. शरद वन्तले साइकल प्रयोगले प्रत्यक्ष रूपमा वायु प्रदूषण घटाउन सघाउने बताए। उनले भने, “साइकल प्रयोगले सम्पूर्ण वायु प्रदूषण हटाउँछ भन्नु त होइन, तर सवारीसाधनबाट उत्सर्जन हुने प्रदूषण न्यूनीकरणमा यसको भूमिका महत्वपूर्ण छ।”

कार्यक्रममा फ्रान्सको पेरिस शहरमा पछिल्लो १० वर्षमा साइकल लेनको प्रयोग विस्तार गरी ४० प्रतिशतसम्म वायु प्रदूषण घटेको तथ्याङ्क प्रस्तुत गरिएको थियो।

त्यस्तै, कार्यक्रममा नेपाल साइकल सोसाइटीमा आबद्ध अभियन्ताहरूले देशमा साइकल प्रयोगको सम्भावना, यसको प्रवर्धनका उपाय तथा स्थानीय तहको भूमिकामाथि समेत छलफल गरेका थिए।

नेपाल साइकल सोसाइटीले साइकलको प्रयोग तथा प्रवर्धनलाई प्रोत्साहन गर्न आउँदो शनिबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया