वन मुद्दामा वाग्मतीका मेयर भरत थापा ५० लाख धरौटीमा रिहा

काठमाडौं — सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत कुमार थापा वन पैदावारसम्बन्धी भ्रष्टाचार मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार उनीसहितको मुद्दामा थापालाई धरौटीमा छाड्ने आदेश दिएको हो।

थापाविरुद्ध एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो माग गर्दै मुद्दा दायर गरिएको थियो। वाग्मती नगरपालिकाअन्तर्गत निर्माण गरिएको ‘भरत ताल’ खनन गरी बेचेको ढुंगा, गिट्टी, बालुवा तथा त्यस क्षेत्रमा अवैध रूपमा काटिएका रुखहरूसमेतलाई आधार बनाएर ठूलो आर्थिक क्षति पुर्‍याएको आरोप लगाइएको हो।

अनुसन्धानमा, थापा र अन्य प्रतिवादीहरूले करिब ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको उल्लेख गरिएको छ। सोही आधारमा एक अर्ब ४७ करोडभन्दा बढीको बिगो दाबी गरिएको हो।

थापासहित उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसमेत प्रतिवादी बनाइएको मुद्दा दायर गरिएको थियो।

मुद्दा दायर हुँदा फरार रहेका थापा पछिल्लो समय आफैं अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो। त्यसपछि भएको थुनछेक बहसपछि उनलाई ५० लाख धरौटीमा रिहा गरिएको हो।

तपाईको प्रतिक्रिया