वाढी पहिरोपछिको स्थिति र यथार्थ

नेपाल लुक संवाददाता
गत साता मानिसहरु आ आफ्नो काममा ब्यस्त थिए । असारको महिना रोपाइको चटारो त हुने नै भयो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषकहरुको ब्यस्तता बढ्छ नै । तर रोपी सकेको धानलाई समेत बगाउने गरी लगातार झरी दर्कियो । तीन दिनसम्म लगातारकोे झरीले धान मात्रै बगाएन मानिसको जीवन उडायो । उनीहरुका सपनालाई सधैका लागि समाप्त गरिदियो । ९० जना भन्दा वढीले ज्यान गुमाए । हजारौ थातथलोबाट विस्थापित भए । दर्जनौ घाइते छन् । कैयौ वालवालिका अभिभावक विहिन बनेका छन् भने कैयौ अभिभावक सन्तान विछोडको पीडामा आशु झार्न विवश छन् ।


वर्षा आफैमा निर्दयी थिएन । यो त प्रकृतिको स्वभाविक नियम थियो । अन्यन्त्र पनि यो भन्दा वढी स्तरमा वर्षा हुन्छ । तर हामीकहाँ वढी क्षति भयो । तराइका अधिकांश जिल्ला डुवानमा परे । पूर्वका पहाडी जिल्ला भोजपुरदेखि मध्य तराइको रौतहटसम्म मानिसले ज्यान गुमाए । कतै पहिरोमा जीवन पुरियो, कतै वर्षाको भेलसँगै जीवन बगेर गयो । हजारौ आश्रयको पर्खाइमा छन् । उनीहरुको थातथलो उजाडिएको छ । वाढी पीडितहरुले आफ्नो ब्यथा सुनाउदै नेपाल लुकसँग भने अन्नपात केही छैन, पशु चौपाया सबै वाढीले बगायो, कहाँ बस्ने के खाने ? पीडा छ हजुर पीडा । यता, पहिरोबाट पीडितहरुको ब्यथा पनि उस्तै छ । उनीहरु कतिबेला पहिरो खस्ने हो र जीवन गुमाउनुपर्ने हो भन्ने त्रासमा छन् ।

वर्षापछिको डुवानले काठमाण्डौ उपत्यकालाई समेत छाडेन । पहिरोले ललितपुर र काठमाण्डौमा गरी सात जनाले जीवन गुमाए । सबैभन्दा वढी मानवीय क्षति प्रदेश नम्बर १ मा भयो । तराइको कहाली लाग्दो दृष्यसँगै काठमाण्डौका पनि सुगम भनिएका ठाउँमा समेत मानिस डुवाउने गरी पानी जमेपछि डुंगा नै चलाउनु पर्यो । घर भित्रका सामान त कति बगे बगे ।

अर्कोतिर हाम्रो छिमेकी मित्र भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा हामीले थप दुख पायौं । रौतहट पूर्णरुपमा डुबानमा पर्यो । जनकपुर जगमग्न बन्यो । सबै स्तरका खोला र नदीको वाढी बस्तीमा पस्यो । एक तलासम्मका घरहरु डुवानमा परे । सबैजसो राजमार्ग अवरुद्ध बने । आवागमन रोकियो । विजुलीका पोलहरु ढल्दा अन्धकार छायो । अनि टेलिफोनका टावरहरुमा क्षति पुग्दा संचार सम्पर्क विच्छेद हुन पुग्यो । वाढीले प्रदेश नम्बर २ को प्रदेश सभा सचिवालयदेखि प्रहरी कार्यालयहरुसम्मलाई डुवानमा पार्यो । डुबानका कारण कष्टकर बनेको जनजीवन अझै सामान्य अवस्थामा फर्कन सकेको छैन ।
विपद्पछिको तत्कालिन उद्दार र राहतमा स्थानीय तह, प्रदेश तह र संघीय सरकारले सक्दो प्रयास गरे । मन्त्रीपरिषद्को बैठक बसेर उद्दार र राहतमा जुट्न भनियो, अनि जनजीवनलाई सामान्य गर्नेतर्फ काम गर्न सम्वद्ध निकायहरुलाई निर्देशन पनि दिइयो । बैठकपछि सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वाढी र पहिरो पीडितलाई कुनै समस्या नहोस् भनेर सम्वद्ध निकायलाई निर्देशन दिइएको जानकारी दिए । उनले घाइतेहरुको उपचार र राहत वितरणमा कुनै समस्या हुन नदिने दाबी गरे ।


यही मेसोमा संसदको राज्य ब्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापासहित, गृहमन्त्रालयका उच्च अधिकारीहरुसँग वाढी, पहिरो र डुवानका कारण भएको मानवीय र भौतिक क्षतिबारे जानकारी लियो । सांसदहरुले सरकारको क्षमतामाथि प्रश्न उठाए । जवाफमा गृहमन्त्री थापाले हेलिकोप्टरबाट समेत उद्दार र राहतको काम गरिएको भन्दै जनतालाई राहत दिने सन्दर्भमा कुनै कञ्जुस्याई नगर्ने प्रष्ट पारे ।
गृहमन्त्री, सचिव लगायतसँगको छलफलपछि समितिले उद्दार र राहतको काममा कुनै कसर बाँकी नराख्न भन्यो । स्वयं राष्ट्रपति र प्रधानमन्त्रीले पनि देश विपद्मा रहेको बेला सहयोगी हातहरु अघि वढाउन आग्रह गरे ।
केही दिन अघि मात्रै मन्त्री र नेताहरुले वाढी प्रभावित क्षेत्रको निरिक्षण गरे । हेलिकोप्टरमा पुगेका उनीहरुले पीडितहरुसँग कुनै अन्तरक्रिया गरेनन् । तर संचारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री रामबहादुर थापाले उद्धार र राहतको काम निकै प्रभावकारी रहेको भन्दै विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा सरकारले दीर्घकालिन सोचकासाथ काम अघि वढाइएको वताए ।
यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वाढी पीडित क्षेत्रमा कुनै पनि रोगको प्रकोप नफैलियोस् भनेर पर्याप्त सचेतता अपनाइएको र स्वास्थ्यकर्मीहरुको टोली खटाइएको जानकारी दिए । उनले औषधीको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।
यस्तै उर्जामन्त्री वर्षमान पुनले विद्युत सेवा सुचारु ग्रिएको र कतिपय जलविद्युत आयोजना मर्मतको काम अघि वढाइएको वताए । मन्त्रीहरुसँगै पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपाल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत वाढी पीडित क्षेत्रको निरिक्षणमा सहभागी थिए ।
मन्त्रीहरुले जे जस्तो दाबी गरेपनि अहिले पनि पीडितहरु पानी वा हिलोमाथि पाल टाँगेर जसोतसो जीवन गुजारा गरिरहेका छन् । प्रदेश सरकारले दिने भनेको राहत रकम पनि सबै पीडितसम्म पुगिसकेको छैन । अर्कोतिर विपद्पछि फैलिने महामारीको डर त छँदैछ । कतिपय ठाउँमा बालवालिका र वृद्धबृद्धा विरामी पर्न थालेका छन् । जे होस् नेपाल भूकम्पदेखि वाढीसम्म, पहिरोदेखि डुवासम्मको जोखिमको दलदलमा छ । हामीले विपद् जोखिम न्युनिकरणमा ठोस पाइला अघि वढाएनौ भने प्रत्येक वर्ष अहिलेको जस्तो नियति ब्यहोर्नुपर्ने निश्चित छ । यसतर्फ सम्वद्ध पक्षहरुले समयमै ध्यान पुर्याउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया