लुम्बिनी प्रदेश सरकारको बेरुजु एक वर्षमै ६५ करोडले वृद्धि, कुल बेरुजु साढे ४ अर्ब नाघ्यो

बुटवल । लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक वर्षको अवधिमा झण्डै ६६ करोड रुपैयाँले बढेर कुल साढे ४ अर्ब नाघेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ।

आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनअनुसार, लुम्बिनी प्रदेशको बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो रकम ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको थियो।

बुधबार राष्ट्रपति समक्ष पेश गरिएको ६२औं वार्षिक प्रतिवेदनमा प्रदेश सरकारहरूको खर्च व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठाइएको छ। प्रतिवेदनले लुम्बिनी प्रदेशको बेरुजु रकम ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले वृद्धि भएको उल्लेख गरेको छ।

तर, कुल खर्चको अनुपातमा हेर्दा भने बेरुजु दर केही घटेको देखिन्छ। २०७९/८० मा १.६० प्रतिशत रहेको बेरुजु दर २०८०/८१ मा घटेर १.१३ प्रतिशतमा झरेको महालेखाको विश्लेषण छ।

बेरुजु देखिनुले सरकारी खर्चको प्रक्रिया अपूर्ण, अनियमित वा अपारदर्शी भएको संकेत गर्छ। यस्तो अवस्थाले सार्वजनिक वित्तीय अनुशासनमा चुनौती सिर्जना गर्न सक्छ।

तपाईको प्रतिक्रिया