लुभू क्षेत्रमा इनारबाट युवकको शव बरामद, केही व्यक्ति नियन्त्रणमा

लुभू — ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूस्थित विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारमा बोराभित्र राखिएको अवस्थामा एक युवकको शव फेला परेको छ।

बुधबार अपराह्न तरकारी खेती गर्ने स्थानीयले इनारमा बोरा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट शव कर्तव्य गरी बोरामा राखेर इनारमा फ्याँकिएको आशंका गरिएको छ। शवको पहिचान सुरुमा खुल्न नसके पनि बिहीबार बिहान अनुसन्धानका क्रममा मृतकको सनाखत भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु रहेको खुलेको छ। उनी मंसिर २० गतेदेखि सम्पर्कविहीन रहेको बताइएको छ। प्रहरीका अनुसार मृतकको टाउकोमा गहिरो चोट देखिएको छ।

घटनामा संलग्न हुन सक्ने आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया