नेपाली समय शनिबार बिहान १:१५ बजे ट्रम्प–पुटिन भेट हुने

काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा हुने ऐतिहासिक वार्ताले विश्वव्यापी ध्यान खिचेको छ। यो भेटवार्ता रुस–युक्रेन युद्ध र भेटघाटको स्थानको ऐतिहासिक–कूटनीतिक महत्त्वका कारण चर्चामा छ।

अलजजिराका अनुसार, दुई नेताबीचको वार्ता अलास्काको स्थानीय समयअनुसार बिहान ११:३० बजे (नेपाली समय शनिबार बिहान १:१५ बजे) सुरु हुने तालिका छ।

रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक दूत किरिल दिमित्रिएभ सहभागी हुँदैछन्। अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रूबिओ, मध्यपूर्वका विशेष दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसेन्ट र रक्षामन्त्री पिट हेगसेथ सहभागी छन्।

१. रुस–युक्रेन युद्धबारे वार्ता

डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा आफू निर्वाचित भए २४ घण्टामै युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। तर ९ महिना बितिसक्दा पनि युद्ध समाधान हुन सकेको छैन।

ट्रम्पले यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्हाइट हाउसमा आमन्त्रण गरी वार्ता गरे पनि त्यो असफल रह्यो। त्यही घटनाका कारण उनी आलोचनाको सामना गर्नुपरेको थियो।

अब पुटिनसँगको यो पहिलो प्रत्यक्ष भेटवार्तामा ट्रम्पले युद्धविरामबारे छलफल गर्ने जनाएका छन्। उनले रुसलाई गम्भीर परिणामको चेतावनीसमेत दिएकाले यो वार्ताबाट कुनै सहमतिको अपेक्षा गरिएको छ।

२. अलास्काको ऐतिहासिक र कूटनीतिक महत्व

अलास्का १५० वर्षअघि रुसकै उपनिवेश थियो, जसलाई सन् १८६७ मा ७.२ मिलियन डलरमा अमेरिकाले किनेको हो। आज पनि त्यहाँ रुसी संस्कृतिका केही अवशेष पाइन्छन्।

अलास्का र रुसबीचको दूरी केवल ८८ किलोमिटर भएकाले पुटिनका लागि यो भौगोलिक रूपमा सहज गन्तव्य हो।

साथै, अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) को सदस्य नभएकाले पुटिनमाथि जारी ICC वारेन्ट यस स्थानमा लागू हुँदैन। त्यसैले पुटिन दशकपछि पहिलोपटक अमेरिकी भूमिमा पाइला राख्न लागेका हुन्।

यो ऐतिहासिक भेटले द्विपक्षीय सम्बन्ध र वैश्विक कूटनीति कुन दिशातर्फ मोडिन्छ भन्ने प्रश्न उठाएको छ। अब सबैको नजर वार्तामा के निष्कर्ष निस्कन्छ भन्नेमा केन्द्रित छ।

तपाईको प्रतिक्रिया