लहानमा नगरव्यापी समावेशी सरसफाइ कार्यान्वयन गर्न स्थानीय तहसँग छलफल

लहान नगरपालिकाका स्थानीय जनप्रतिनिधिसँग नगरव्यापी समावेशी सरसफाइबारे (UN-Habitat) नेपाल , वाटर एड नेपाल र मिडिया हेल्पलाइनद्वारा छलफलको क्रममा खिचिएको फोटो।

सिरहा — सिरहाको लहान नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणाली विस्तार कार्यक्रम’ कार्यान्वयन गर्न स्थानीय तह सँग प्रारम्भिक छलफल गरिएको छ । यस अघि भएको समझदारी अनुरुप कार्यक्रमको सफल कार्यान्वयनका लागि साझेदार निकायहरुको भूमिकालाई अझ स्पष्ट बनाउने र कामलाई गति दिने उद्देश्यले छलफल आयोजना गरिएको थियो।
यस अघि गत असार १३ गते लहान सहित सातै प्रदेशका १/१ वटा नगरपालिका सँग ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणाली विस्तार कार्यक्रम’ कार्यान्वयन गर्न बहुपक्षीय सम्झौता भएको थियो । कार्यक्रम कार्यान्वयन हुने नगरपालिकाहरुमा मेचीनगर नगरपालिका, लहान नगरपालिका, ललितपुर महानगरपालिका, गोरखा नगरपालिका, घोराही उपमहानगरपालिका, र गोदावरी नगरपालिकामा छन् ।
संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) नेपाल, वाटर एड नेपाल, मिडिया हेल्पलाइन र लहान नगरपालिका बीच भएको छलफलमा नगर क्षेत्रभित्रका सबै वर्ग र समुदायका लागि सुरक्षित, पहुँचयोग्य र दिगो सरसफाइ सेवाको आवश्यकता र यसको कार्यान्वयनबारे छलफल गरिएको थियो । सहभागीहरूले स्थानीय तहको नेतृत्व, समुदायको सहभागिता र समन्वयकारी भूमिकाबाट सरसफाइ प्रणाली प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए ।
छलफल कार्यक्रममा युएन ह्याबिटाट नेपालकी परियोजना सहायक भिन्तुना श्रेष्ठले कार्यक्रम अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र लहान नगरपालिका बीचको समन्वयमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी कानुनी औजार निर्माण गर्ने, तथ्यांक संकलन तथा अद्यावधिक गर्ने र क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्ने र संस्थागत प्रारूप निर्माण लगायत प्राविधिक सहयोग प्रदान गरिने जानकारी गराउनुभयो।
त्यस्तै, युएन ह्याबिट्याट नेपालका CWIS Technical Officer राजेश मानन्धरले सात वटा नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सकिने खालका उत्कृष्ट अभ्यासहरु हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा वडा नं. १३ का अध्यक्ष मनोज कोइरालाले लहान नगरपालिकाको सरसफाइ अवस्था अघिल्लो अवस्थाको तुलनामा क्रमिक रूपमा सुधार हुँदै गएको र हाल सरसफाइ नीति कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनुभयो । उहाँले मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त जग्गाको खोजी भईरहेको र सरोकारवालासँग सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लहान नगरपालिका वडा नं. १३ का अध्यक्ष मनोज कोइराला

स्थानीय जनप्रतिनिधिहरूको जिज्ञासाको जवाफ युएन ह्याबिट्याट नेपालका सिवाइज टेक्निकल अफिसर राजेश मानन्धर, परियोजना सहायक भिन्तुना श्रेष्ठ र वाटर एड नेपालका वरिष्ठ वास नीति सल्लाहकार गोविन्द श्रेष्ठले दिनुभएको थियो ।
छलफलमा लहान नगरपालिका वडा नं. ९ अध्यक्ष घुरन थारु, वडा नं. ११ अध्यक्ष सूर्य नारायण चौधरी, वडा नं. १३ अध्यक्ष मनोज कोइराला, बिकन परियोजनाका प्रतिनिधिहरू तथा नगरपालिका कार्यालयका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लहान नगरपालिकाका स्थानीय जनप्रतिनिधिसँग छलफल

कार्यक्रमपछि प्रतिनिधि टोलीले लहान नगरपालिकाको अव्यवस्थित बस्तीहरुको स्थलगत अवलोकन गरी त्यहाँको सरसफाइको अवस्था र बासिन्दाहरूले भोगिरहेका सरसफाइ चुनौतीबारे छलफल गरेका थिए ।
विश्वव्यापी रूपमा नगरव्यापी समावेशी सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यका साथ, युएन ह्याबिट्याटले युनिसेफ सँगको साझेदारीमा गेट्स फाउन्डेशनको आर्थिक सहयोगमा चार देशहरू (नेपाल, बंगलादेश, इथियोपिया र केन्या) मा नगरव्यापी समावेशी सरसफाइ कार्यदिशाको पैरवी सुरु गरेको छ । यसै सन्दर्भमा नेपालमा पनि नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणाली विस्तार कार्यक्रम सुरु भएको हो ।

लहान नगरपालिकाको भवन
लहान नगरपालिकाको सुकुम्बासी बस्तीमा छलफल।
लहान नगरपालिकाको सुकुम्बासी बस्ती मा बलान खोलाले सक्ने जोखिम मुल्याङ्कन गर्दै।
लहान नगरपालिकाको सुकुम्बासी बस्ती

तपाईको प्रतिक्रिया