लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ

काठमाडौं । बजारमा साता-दश दिनदेखि विभिन्न जातका आँप आउने क्रम सुरु भएको छ। नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले बताएअनुसार, हाल मुख्य रूपमा लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ।

उनले भने, “आँप आइरहेको छ र एक सातापछि मुख्य सिजन सुरु हुनेछ।”

बजारमा अहिले मालदह, दसहरी र बमोई गरी तीन प्रकारका आँप उपभोक्ताले पाउन सक्नेछन्। बल्खु बजारमा मालदह आँपको थोक मूल्य न्यूनतम १०० रुपैयाँ प्रति किलो छ भने दसहरी आँपको मूल्य १०५ देखि ११० रुपैयाँसम्म र बमोई आँप ८० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ।

असार १५ सम्म तराई क्षेत्रका आँप उपलब्ध रहनेछन् भने त्यसपछि पहाडी भेगका आँप बजारमा आउने अपेक्षा गरिएको छ। ग्राहकहरूले साउनको अन्त्यसम्म आँप किन्न पाउनेछन्।

तपाईको प्रतिक्रिया