ललितपुरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण हुँदै

काठमाडौं — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरका विभिन्न स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण भइरहेको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै उनले विपद् जोखिमयुक्त क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक भएकाले चारवटा स्थानमा पूर्वाधार बनाइरहेको जानकारी दिए।

महर्जनले यस वर्षका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याएर उक्त काम भइरहेको बताए। साथै, विपद् जोखिम न्यूनीकरणका लागि पाँचवटा डुङ्गा खरिद गर्ने तयारी भइरहेको पनि उनले जनाए।

पाटन क्षेत्रमा ट्राफिक चाप बढेकोले दमकलको आवतजावतमा समस्या भएको महर्जनले बताए। उनले भने, “विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय रहँदा पनि कानुनी जटिलताका कारण काम गर्न कठिनाइ भोग्नुपरेको छ।”

जनशक्ति दक्षता नहुँदा पनि विपद् व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले महानगरका नगरप्रहरीलाई लक्षित गरेर विपद् स्वयंसेवक तालिम सञ्चालन गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया