रेशम चौधरीलाई डिल्लीबजार कारागार चलान

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ। मंगलबार प्रहरी टोलीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरी कारागार लगेको हो। चौधरीको पक्राउ पार्टी एकता घोषणाको तयारी भइरहेका बेला भएको थियो।

चौधरी, जो टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका थिए, गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी प्राप्त गरेपछि २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। उनले पाँच वर्ष तीन महिना जेल सजाय काटेका थिए, र उनको १४ वर्ष ९ महिना जेल सजाय छुटिएको थियो।

रिहा भए पछि टीकापुर घटनामा सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराको पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा पुनः मुद्दा दायर गरिन्। उनले टीकापुर घटनालाई अकल्पनीय, दुःखद र क्रूर आपराधिक घटना भनेकी थिइन् र माफीको विरोध गरेकी थिइन्।

प्रहरी स्रोतका अनुसार चौधरीलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो, र उनलाई अझै केही बाँकी कैद भुक्तान गर्नु पर्ने छ। चौधरीको मुद्दामा फैसला कार्यान्वयन गर्नका लागि उनलाई पुनः पक्राउ गरिएको प्रहरी अधिकारीहरूले जानकारी दिए।

यता, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीचका आन्तरिक विवादका कारण सहमति जुटाउन शीर्ष नेता छलफलमा जुटेका छन्।

टीकापुर घटना के थियो?

संविधान जारी हुने समय थियो, र सुदूरपश्चिमका विभिन्न जिल्लामा थरुहट प्रदेशको पक्षमा आन्दोलन जारी थियो। २०७२ भदौ ७ गते टीकापुरमा थारु समुदायका नेताहरूको अगुवाइमा सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेशको माग राखेर बोर्ड टास्ने कार्यक्रम थियो। त्यही कार्यक्रमको क्रममा भएको भिडन्तमा ८ जनाको मृत्यु भएको थियो, जसमा एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा लगायतका अधिकारीहरूको ज्यान गएको थियो।

घटनामा रेशम चौधरीको संलग्नता रहेको आरोप थियो। उनले २०७४ सालको आमनिर्वाचनमा चुनाव जितेर संसदमा प्रवेश गरेपछि आत्मसमर्पण गरेका थिए। कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले उनलाई डाँका चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएका थिए।

तपाईको प्रतिक्रिया