रेग्राग्युले छाडे मोरक्को फुटबल टिमको मुख्य प्रशिक्षक पद

काठमाडौं — मोरक्को राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक वालिड रेग्राग्युले पदबाट अलग हुने निर्णय गरेका छन्। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आफूले प्रशिक्षक पद छोड्ने जानकारी दिएका हुन्।

रेग्राग्युले टोलीको आगामी योजनाका लागि नयाँ सोच र नेतृत्व आवश्यक भएको भन्दै आफूले जिम्मेवारी त्याग्ने निर्णय गरेको बताएका छन्। उनका अनुसार यो निर्णयले टोलीको भविष्यका लागि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

मोरक्को फुटबल संघले भने उनको स्थानमा बेल्जियमका प्रशिक्षक मोहम्मद ओउहबीलाई नयाँ मुख्य प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरेको जनाएको छ। संघका अध्यक्ष फौजी लेक्जाले पत्रकार सम्मेलनमै ओउहबीलाई प्रशिक्षक नियुक्त गर्ने योजना रहेको बताएका छन्।

रेग्राग्युको नेतृत्वमा मोरक्कोले कतारमा आयोजित पछिल्लो विश्वकपमा उल्लेखनीय प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। साथै, गत जनवरीमा सम्पन्न अफ्रिका कप अफ नेसनमा पनि टोली फाइनलसम्म पुगेर उपविजेता बनेको थियो।

अफ्रिका कप अफ नेसनको फाइनलमा पराजित भएपछि उनले पदबाट अलग हुने संकेत गरेका थिए। उक्त प्रतियोगितामा मोरक्कोले करिब पाँच दशकपछि अफ्रिकाको प्रमुख महादेशीय उपाधि जित्ने अवसर गुमाएको थियो।

तपाईको प्रतिक्रिया