राेकियाे चाम्लिङको २५ वर्षे लामो सत्ता यात्रा‍‍‍

भारतमा सम्पन्न लोकसभा निर्वाचन सँगसँगै केही प्रदेशमा विधानसभा निर्वाचन पनि भएको थियो । तीमध्ये नेपालसँग सिमाना जोडिएको र बहुसङ्ख्यक नागरिक नेपाली भाषी रहेको सिक्किममा पनि विधानसभा चुनाव भएको थियो ।

सिक्किम विधानसभा चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको छ । उक्त परिणामले २५ वर्षदेखि सिक्किममा शासन गरिरहेका पवनकुमार चाम्लिङको पार्टीलाई सत्ताच्युत गरेको छ ।

बिहीबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार सिक्किमको विधानसभाको कुल ३२ सिटमा चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्टले १५ सिट जितेको छ भने सिक्किम क्रान्तिकारी मोर्चले १७ सिट जित्यो ।

सिक्किममा सरकार गठन गर्नका लागि १६ सिट पर्याप्त हुन्छ । योसँगै सिक्किम डेमोक्रेटिक फ्रन्टको शासनको अन्त्य भएर नयाँ पार्टीको सरकार बनाउने अवस्थामा आइपुगेको छ ।

विधानसभामा मात्र होइन केन्द्रीय संसदका लागि उम्मेदवार छान्ने लोकसभा चुनावमा पनि सिक्किम क्रान्तिकारी मोर्चाले नै जित हासिल गरेको छ ।

सिक्किमबाट भारतीय लोकसभा निर्वाचनमा एक उम्मेदवार छानिन्छन् । त्यसमा सिक्किम क्रान्तिकारी मोर्चाका इन्द्रहाङ सुब्बा विजयी भएका छन् । सन् १९९६ पछिका हरेक लोक सभा निर्वाचन सिक्किम डेमोक्रेटिक फ्रन्टका उम्मेदवारले जित्दै आएको थियो ।

को हुन् पवनकुमार चाम्लिङ ?

चाम्लिङ नेतासँगै साहित्यकार पनि हुन् । नेपाली भाषामा लेख्ने चाम्लिङका विभिन्न कृति प्रकाशित छन् । यस कारणले पनि पवन नेपालमा परिचित नाम हुन् ।

चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक नेता हुन् । उनले सो पार्टी सन् १९९३ मार्चमा स्थापना गरेका थिए ।

सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग मनमुटाव भएपछि चाम्लिङले अलग पार्टी स्थापना गरेका थिए । त्यसअघि चाम्लिङ भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए ।

नयाँ पार्टी स्थापना गरेकोे एक वर्षमै उनको पार्टीले सिक्किममा बहुमत हासिल गरेको थियो । 

त्यसपछि हरेक विधान सभा निर्वाचनमा चाम्लिङको पार्टीले दुई तिहाइभन्दा बढी मत पायो । ती जितको बलमा पवन चाम्लिङ लगातार पाँच पटक मुख्यमन्त्री बन्न सफल भए । पवन चाम्लिङ स्वतन्त्र भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने नेता हुन् ।

पवन चाम्लिङले सिक्किममा कैयौँ लोकप्रिय काम गरेकाले उनको छवी बलियो हुँदाहुँदै पनि पवन २५ वर्षे लामो शासनले सिर्जना गरेको ‘एन्टी–इन्कुबेन्सी’ सेन्टिमेन्टको शिकार भए ।

एजेन्सी र राताेपाटीकाे सहयाेगमा ।

तपाईको प्रतिक्रिया