रास्वपा र समाजवादीले नैतिकता सिकाउने?:जितजंग बस्नेत

काठमाडौँ,नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति निशाना साँध्दै ‘नैतिकताको पाठ अरूलाई सिकाउनु अघि आफूले सिक्नुपर्ने’ टिप्पणी गरेका छन्।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बस्नेतले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको र रास्वपाका सभापति हाल कारागारमा रहेको अवस्थालाई उल्लेख गर्दै यस्तो प्रश्न उठाएका हुन् —
“जेलमा रहेका पार्टी सभापति र अख्तियारले मुद्दा चलाएका नेताहरू संसदीय दलको नेतृत्वमा बसिरहने अनि अरूलाई नैतिकताको पाठ पढाउने? यो कस्तो नैतिकता हो?”

उनले ती दलहरूले कांग्रेसजस्ता पुराना दलहरूलाई नैतिकताको शिक्षा दिन खोज्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्दै भने,
“नैतिकता पहिले आफैँमा हुनुपर्छ। नैतिक चरित्र राम्रो भए मात्रै अरूलाई सिकाउन सकिन्छ।”

बस्नेतले देश सुशासन र उत्तरदायित्वमा आधारित भएर चल्नुपर्ने उल्लेख गर्दै नैतिक चरित्र बिना मुलुक अगाडि नबढ्ने चेतावनी पनि दिए।

उनले थपे, “तपाईँहरूकै पार्टी अध्यक्षमाथि अख्तियारले मुद्दा लगाएको छ, अर्को पार्टीको सभापति जेलमा छन्। यस्तो अवस्थामा पनि संसदीय नेतृत्व र पार्टी जिम्मेवारी नछाड्ने अनि नैतिकताको कुरा गर्ने? यस्तो व्यवहारबाट जनतालाई कस्तो सन्देश जान्छ?”

सांसद बस्नेतले राजनीतिक दलहरूको आन्तरिक अनुशासन, पारदर्शिता र नेतृत्वको नैतिक जिम्मेवारीप्रति प्रश्न उठाउँदै, नेताहरूले पहिले आफैं सुध्रिनुपर्ने र त्यसपछि मात्रै अरूलाई सुधार्न आग्रह गर्न सकिने धारणा राखे।

तपाईको प्रतिक्रिया