रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा र छानबिन आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको भन्दै राजीनामा दिनुपर्ने धारणा राखे। उनले भिजिट भिसा सम्बन्धी प्रकरणमा संलग्न सञ्जालको गहिरो छानबिन आवश्यक रहेको उल्लेख गरे।

“यो कुनै एक कर्मचारीले नागरिकता बनाउने क्रममा घुस मागेको सामान्य घटना होइन,” खनालले भने, “यसमा म्यानपावर कम्पनी, एयरलाइन्स, सरकारी कर्मचारीदेखि मन्त्रीको सचिवालयसम्मको संलग्नता देखिन्छ। गृहमन्त्रीमाथि नै प्रश्न उठेकाले उहाँले राजीनामा दिनुपर्छ।”

खनालले थपे, “हामी केवल राजीनामाको माग गर्दै होइनौं, यसमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत जोडिएको छ। निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद् सञ्चालन हुन सक्दैन।”

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा प्रयोगमा आउने मोबाइल र उपकरणहरू गृहमन्त्रालय अन्तर्गतकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने भएकाले निष्पक्षता सुनिश्चित गर्न सकिँदैन।

रास्वपाका सांसदहरूले बैठकमै नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए। उनीहरूले सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिएको भन्दै विरोध समेत जनाएका थिए।

तपाईको प्रतिक्रिया