रास्वपाले भ्रष्टाचार छानबिन नभएसम्म विरोध जारी राख्ने सांसद शाहको दाबी

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा भ्रष्टाचार छानबिन नहुँदासम्म विरोध जारी राख्ने जनाएको छ।

सोमबार प्रतिनिधि सभामा बोल्दै रास्वपा सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म पार्टीको विरोध जारी रहने बताएका छन्।

शाहले भ्रष्टाचारका अन्य प्रकरणहरू पनि सार्वजनिक भए पनि मन्त्रीले राजीनामा दिएपछि छानबिन फाइल बन्द भएको आरोप लगाए। उनले भने, “भ्रष्टाचारको अडिओ बाहिरियो, घुस मागेको अडिओ आयो। राजीनामा दिएपछि सबै पाप पखालियो? राजीनामा भनेको भ्रष्टाचारको पापबाट मुक्तिको गंगास्नान हो कि?”

उनले तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि छानबिन फाइल बन्द गरिएको तर अर्का मन्त्री र पूर्वमन्त्रीलाई अदृश्य शक्तिले संरक्षण दिइरहेको बताए। शाहले यस विषयमा छानबिन आवश्यक रहेको बताए।

त्यसैगरी, वन मन्त्रीमाथि नर्वे शयर सम्बन्धी अनौठो कार्यक्रम बनाएर श्रीमती र स्वकीय सचिवलाई लाभ पुगेको आरोप पनि उनले लगाए।

उनले सरकारलाई लाज लागेको छैन भने प्रश्न गर्दै भने, “हामीलाई लाज लागिसक्यो। के-केको मात्रै विरोध गर्ने होला?”

सांसद शाहले प्रधानमन्त्री र सरकारले सिंहदरबारबाट भ्रष्टाचार सफाइको अभियान सुरु गर्नुपर्ने बताए। उनले भने, “आफ्नो मन्त्रीहरूको अनुहारमा लागेको भ्रष्टाचार र बेथितिको धुलो पुछ्नुपर्छ, तब मात्र जनताले न्यायको सफा ऐना देख्नेछन्।”

तपाईको प्रतिक्रिया