रास्वपाका महामन्त्री बुर्लाकोटीसहित नेताहरू आयोगमा, पदाधिकारी हेरफेर अद्यावधिक नभएकोमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू आइतबार दिउँसो निर्वाचन आयोग पुगेका छन्। पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक नभएको भन्दै उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन्।

रास्वपाले २०८१ साउन १७ गते केन्द्रीय समितिबाट पार्टी पदाधिकारीहरूमा हेरफेर गरिएको जानकारी आयोगमा पठाएको थियो। तर सो विवरण आयोगको आधिकारिक अभिलेखमा अद्यावधिक नभएको र प्रक्रियागत ढिलाइ भइरहेको भन्दै पार्टी नेतृत्वले प्रत्यक्ष रुपमा आयोगसँग स्पष्टिकरण मागेको हो।

यसअघि पनि रास्वपाका नेताहरू गोविन्दप्रसाद पन्त, सितलचन्द्र धरेल, कैलाशबाबु सिलवाल र रामप्रसाद शिवाकोटीले आयोगसँग सोही विवरण अद्यावधिक नभएको विषयमा सूचना माग गरेका थिए।

त्यसका जवाफस्वरूप आयोगले गत असार २७ गते पत्राचार गर्दै डा. मुकुल ढकालसम्बन्धी अनुशासनात्मक कारबाहीको सन्दर्भमा पर्याप्त प्रमाण प्रस्तुत नभएको जनाउँदै जेठ २९ मा पत्र पठाइएको र त्यसको आधिकारिक कागजात असार ८ मा मात्र प्राप्त भएको जानकारी दिएको थियो।

पार्टी पदाधिकारीको आधिकारिक विवरण समयमै अद्यावधिक नहुनु र पूर्व कारबाहीका विषयमा स्पष्ट निर्णय प्रक्रिया नटुंगिनु रास्वपाले गम्भीर रूपमा लिएको छ।

तपाईको प्रतिक्रिया